आजदेखि धरानमा बुढासुब्बा गोल्डकप, ‘ए’ डिभिजन क्लबहरू सहभागी नहुने — OSNepal

आजदेखि धरानमा बुढासुब्बा गोल्डकप, ‘ए’ डिभिजन क्लबहरू सहभागी नहुने

LC (KTM) February 25, 2023 0

धरान-मोफसलको लोकप्रिय प्रतियोगिता बुढासुब्बा टुबोर्ग गोल्डकपको २३औँ संस्करण धरान–१६ स्थित रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको छ । उद्घाटन समारोहमा ब्रिटिस गोर्खा ब्रिगेड ब्यान्डको ९० जनाको टोलीले विशेष प्रस्तुति दिने अध्यक्ष राईले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन खेल आयोजक धरान र युकेएफसी भारतबीच हुने तालिका छ । प्रतियोगितामा आयोजक धरान, युकेएफसी भारत, केबिपिएस बङ्गलादेश, एभेनियर एफसी क्यामरुन, नेपाल पुलिस क्लब काठमाडौँ, बागमती युवा क्लब सर्लाही, केएफटिसी झापा र एन्फा मोरङ गरी कूल आठ टोलीको सहभागिता रहेको छ ।

नेपालको ‘ए’ डिभिजन क्लबहरू मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, नेपाल आर्मी क्लब, सङ्कटा क्लब, पोखराको सहारालगायत क्लबको भने यस पटक धरानमा उपस्थिति नहुने भएको छ । आयोजकले यस पटक उनीहरूलाई नबोलाएको बताएको छ ।

बाइसौँ संस्करणको बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको थियो । विसं २०७६ फागुन १७ गते भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले हराउँदै मनाङले उपाधि जितेको थियो । २०७६ पछि कोरोनाका कारण प्रतियोगिता हुन सकेको थिएन ।

यसपालि पहिलो पटक कोड आइटीसँग सहकार्य गरेर प्रतियोगिताको एप्स बनाएर अनलाइन टिकट काट्न सकिने र खेलहरूको सबै जानकारी दिइने पनि आयोजक क्लबले जनाएको छ ।

फागुन २० गतेसम्म हुने प्रतियोगिताको फाइनल विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख पाउनेछ । उत्कृष्ट खेलाडीले रु एक लाख पाउनेछ ।

खेल हेर्न ६५ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिक र अपाङ्ग बालबाालिकाका लागि प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ । उद्घाटन खेल तथा क्वार्टरफाइलनसम्मको खेलका लागि प्रवेश शुल्क रु एक सय राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर