कहिले बन्छ बुर्तिबाङमा जिल्ला अस्पताल ? — OSNepal

कहिले बन्छ बुर्तिबाङमा जिल्ला अस्पताल ?

LC (KTM) February 25, 2023 0

ढोरपाटन, १३ फागुन -धौलागिरि अस्पताल जिल्ला सदरमुकाम बागलुङ बजारमा छ । बागलुङ बजारमा रहेको धौलागिरि अस्पतालमा पश्चिम बागलुङका बिरामी नगन्य मात्रा आउँछन् । बागलुङ बजारभन्दा करिब डेढ किलोमिटर पश्चिमका नागरिकले अहिले पनि जिल्ला अस्पतालबाट पाउने सेवा पाउन सकेका छैनन् । तत्कालीन जिल्ला अस्पतालाई विसं २०६७ मा धौलागिरि अञ्चल अस्पतालका रुपमा स्तरोन्नति गरियो । बागलुङ जिल्ला अस्पताललाई बुर्तिबाङ बनाउने निर्णय भयो ।

बुर्तिबाङमा जिल्ला अस्पताल सञ्चालन गर्ने निर्णय दशक बितिसक्दा पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पतालका रुपमा विकास गर्ने गरी भवन बने पनि सरोकारवाला निकायको मौनताले अहिलेसम्म बुर्तिबाङमा जिल्ला अस्पताल सञ्चालनमा आउन सकेको छैन । गाउँगाउँमा स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा आए पनि जटिल खालको उपचार गराउन ठूला अस्पतालमै पु¥याउनुपर्ने बाध्यता छ ।

बुर्तिबाङमा पनि पर्याप्त जनशक्ति र आवश्यक उपकरण नहुँदा यहाँका हजारौँ नागरिक पाल्पा, पोखरा, भरतपुर र काठमाडौँका ठूला अस्पताल धाउन बाध्य छन् । पछिल्लो समय पालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको सुविधासहित पालिकास्तरीय आधारभूत अस्पताल बन्दै छन् । यहाँ पनि ‘सिरियस’ बिरामीको उपचार हुनेमा स्थानीय विश्वस्त छैनन् । गाउँमा कोही सिकिस्त बिरामी भए पाल्पा पोखरा नै पु¥याउनेपर्ने बाध्यता स्थानीय मीनबहादुर घर्ती मगरले बताउनुभयो ।

उहाँले सरकारले बुर्तिबाङमा जिल्ला अस्पताल बनाउने आश्वासन दिए पनि अहिलेसम्म बन्न नसक्दा कैयौँले अकालमा ज्यान गुमाउनु परेको बताउनुभयो । गाउँबाट बिरामीलाई बुर्तिबाङ झार्ने र यहाँ उपचार हुन नसक्दा ठूलो अस्पतालमा पु¥याउँदापु¥याउँदै मृत्यु हुने गरेको दुखेसो पोख्नुभयो । उहाँ भन्नुहुन्छ, “देशमा नेता मात्रै भएर के गर्ने, जनतालाई सधैँ दुःख छ, हाम्रो क्षेत्रमा राम्रो अस्पताल नहुँदा हजारौँ रकमसँगै ज्यान गुमाउने पर्ने स्थिति छ ।”

गाउँका स्वास्थ्यचौकीमा उपचार हुन नसकेका बिरामी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आउने गर्छन् । यहाँ पनि उपचार नभएपछि अर्को नजिक उपचार हुने अस्पताल कतै छैन । जिल्ला सदरमुकाममा रहेको धौलागिरि अस्पतालमा भन्दा पश्चिम क्षेत्रका बिरामी पाल्पा तथा बुटवलतिर जाने गर्छन् । निसीखोलाका तिलबहादुर पुनले पश्चिम क्षेत्रमा राम्रो अस्पताल नहुँदा देशका ठूला अस्पतालमा जानुपर्ने बाध्यता रहेको गुनासो पोख्नुभयो ।

“अहिले जमाना फेरियो, संस्कार संस्कृति फेरियो, पहिलेपहिलेको जस्तो अवस्था छैन, खानपान पनि फेरियो, मान्छेलाई अनेकथरीको रोग लाग्न थाल्यो, नजिकमा राम्रो अस्पताल छैन”, तिलबहादुरले भन्नुभयो, “पहिले धामीझाँक्री गर्ने चलन थियो अहिले त बिरामी हुँदाबित्तिकै अस्पताल जानुपर्छ, यहाँ उपचार नभएपछि त काठमाडौँ, बटौली जानुपर्छ, यस क्षेत्रका मान्छेको उपचार धेरै महँगो पर्छ ।”

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर निरज सुवेदीले दरबन्दीभन्दा बढी जनशक्ति भए पनि अझै अपर्याप्त भएको बताउनुभयो । उहाँका अनुसार यस स्वास्थ्य केन्द्रमा १२ जनाको दरबन्दी हो तर यहाँ हाल कार्यालय सहयोगीसहित ४० जना कार्यरत छन् । एक जना मेडिकल अधिकृतको दरबन्दी भए पनि पाँच जना मेडिकल अधिकृत छन् । उनीहरू पाँचै जना अस्थायी हुन् । तीन जना अहेवको स्थायी दरबन्दी रहेको एक जना स्थायी र तीन जना करारका छन् ।

एक जना स्टाफ नर्सको दरबन्दी रहेकामा तीन जना कार्यरत छन् । सोमध्ये दुई जना स्थायी र एक जना करारका छन् । तीन जना अनमीको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच जना कार्यरत छन् । तीमध्ये तीन जना स्थायी, दुई जना करारका छन् । एक जना हेल्थ असिस्टेन्टको दरबन्दी रहेकामा तीन जना कार्यरत छन् । जसमा दुई जना स्थायी, एक जना करारका हुन् ।

एक जना कार्यालय सहयोगीको दरबन्दी रहेकामा ११ जना कार्यरत छन् । जसमा दुई जना स्थायी र नौ जना करारका हुन् । एक जना ल्याब टेक्निसियनको दरबन्दी रहेकामा छ जना कार्यरत छन् । जसमा एक स्थायी पाँच जना करारका हुन् । स्वास्थ्य केन्द्रमा हाल एक जना फार्मेसी पनि करारमै राखेर सेवा दिइराखेको डाक्टर सुवेदीले जानकारी दिनुभयो ।

डाक्टर सुवेदी भन्नुहुन्छ, “यहाँ देख्दा धेरै कर्मचारी देखिन्छ, तर चौबिसै घण्टा इमरजेन्सी, ल्याबलगायतका सेवा प्रवाह गर्दा निकै गाह्रो छ, थोरै डाक्टर, नर्स र कर्मचारीले चलाउनुपरेको छ, हामीहरूले जतिसक्दो गुणस्तरीय र सहजरुपमा सेवा प्रदान गरिरहेका छौँ, अझै जनशक्ति थपिए यहाँको सेवा धेरै प्रभावकारी बन्थ्यो ।”

डाक्टर सुवेदीका अनुसार अहिले यहाँ १५ श्यया सञ्चालनमा छ । यस स्वास्थ्य केन्द्रमा हुने गर्भवती शल्यक्रिया सेवा सिन्धुलीबाहेक नेपालको कुनै प्राथमिक स्वास्थ्य केन्द्रमा नभएको सुवेदीको भनाइ छ । गर्भवती शल्यक्रिया सेवा यहाँ लामो समयदेखि सञ्चालनमा छ । पछिल्लो समय यहाँ दैनिक करिब डेढ सय बिरामी आउने गरेको डाक्टर सुवेदीले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र भए पनि जिल्ला अस्पतालमा जस्तो बिरामी चाप हुने उहाँको भनाइ छ ।

गण्डकी प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी एक सय श्ययाको अस्पताल बनाउन पहल गरिरहेको बताउनुभयो । उहाँले ५० देखि तीन सय श्ययाको अस्पताल व्यवस्थापन र सञ्चालन गर्ने दायित्व प्रदेश सरकारको भएको भन्दै यस विषयमा गम्भीर भएर लाग्न प्रदेश सरकारलाई आग्रह गर्ने बताउनुभयो ।

“यहाँ एक सय श्ययाको अस्पताल बनाउन पर्याप्त जग्गा छ, पूर्वाधार छ, अब जनशक्ति र आवश्यक उपकरण व्यवस्थापन गरी सञ्चालन गर्न बाँकी छ”, सांसद कुँवरले भन्नुभयो, “हामीहरूले बुर्तिबाङमा एक सय अस्पतालको बनाउनका माग गरिरहेको धेरै वर्ष बितिसक्यो अहिलेसम्म सुनुवाइ हुन सकेन, सरकारले अपनत्व ‘फिल’ ग¥यो भने गाह्रो छैन ।” यहाँ विशेषज्ञ डाक्टरसहित जिल्ला अस्पताल सञ्चालनमा आए पश्चिम बागलुङ छ पालिकासहित गुल्मी, प्युठान, रोल्पा र पूर्वी रुकुमका हजारौँ नागरिकले स्वास्थ्य सेवा लिन सहज हुने थियो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर