विदेश जान पाए पनि सन्दीपले खेल सकिएको पन्ध्र दिन भन्दा धेरै समय बस्न नपाउने — OSNepal

विदेश जान पाए पनि सन्दीपले खेल सकिएको पन्ध्र दिन भन्दा धेरै समय बस्न नपाउने

LC (KTM) February 28, 2023 0

सर्वोच्च अदालतले नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई सशर्त विदेश जान दिने अनुमति दिएको छ।

“खेल समाप्त भएको मितिले स्वदेश फर्कँदा लाग्ने युक्तिसङ्गत म्यादबाहेक १५ दिनभित्र सम्बन्धित अदालतमा उपस्थित हुनुपर्ने,” शर्त राखिएको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले पत्रकारहरूलाई जानकारी दिए।

न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छोड्ने निर्णयलाई पनि सदर गरेको छ। अदालतले उनको राहदानी रोक्का रहेको भए फुकाउन समेत आदेश दिएको छ।

लामिछानेले यूएईमा आयोजना भइरहेको नेपाल, यूएई र पपुवा न्युगिनी सम्मिलित आईसीसी विश्वकप लिग-२ शृङ्खलामा खेल्न जानका लागि गत बिहीवार सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

यूएईमा सोमवारबाट आईसीसी विश्वकप लीग-२ शृङ्खला सुरु भएको छ।अदालतले लामिछानेलाई यूएई जान अनुमति मागिएको निवेदन र धरौटीमा रिहा गर्ने निर्णय बदर गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले दायर गरेको निवेदन दुवैलाई सँगै राखेर सुनुवाइ गरेको थियो।

तर सर्तसहित उनलाई रिहा गर्ने पाटन अदालतको आदेशलाई चुनौती दिँदै महान्यायाधिवक्ताको कार्यालयबाट सर्वोच्च अदालतमा दायर गरिएको निवेदन शुक्रवार हेर्न नभ्याइनेमा राखिएको थियो। अदालतको आदेशकै कारण नेपाल क्रिकेट सङ्घले यूएई शृङ्खलाका लागि राष्ट्रिय टोलीमा लामिछानेको नाम समावेश नगर्ने निर्णय लिएको थियो।

यसअघि अघिल्लो साता काठमाण्डूमा सम्पन्न आईसीसी विश्वकप लीग-२ शृङ्खलामा चारवटा खेलमा लामिछानेले १३ विकेट लिएका थिए। क्रिकेटर लामिछानेले बिहीवार मात्र आफू यूएईमा हुने शृङ्खलामा सहभागी हुन पाऊँ भन्दै निवेदन दिएका थिए। बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर