मिथिला माध्यमिकी परिक्रमामा महोत्तरीको यात्रा पूरा — OSNepal

मिथिला माध्यमिकी परिक्रमामा महोत्तरीको यात्रा पूरा

LC (KTM) February 28, 2023 0

महोत्तरी-मिथिला माध्यमिकी परिक्रमाका यात्रीले महोत्तरीको यात्रा पूरा गरेका छन् । यात्राको चौथो दिन मटिहानीबाट महोत्तरी प्रवेश गरेका यात्रीले सोमबार कञ्चनवन रात्रिबास सकेर आज बिहान महोत्तरीबाट धनुषा प्रवेश गरेका हुन् ।

यात्रको चौथो दिन मटिहानी, पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको बास महोत्तरीमा गरिने परम्परा छ । यसै परम्पराअनुसार १५ दिने यो यात्राका यात्री आज बिहान कञ्चनवनबाट नवौँ दिनको विश्रामका लागि धनुषाको पर्वतातर्फ प्रस्थान गरेका हुन् ।

फागुन औँसीका दिन धनुषाको कचुरीस्थित श्री मिथिलाविहारी मन्दिरबाट श्रीराम र जनकपुरधामस्थित श्री अग्निकुण्ड मठबाट सीताजीको डोला मिसाई सुरु भएको यात्राको पहिलो बास धनुषाकै हनुमानगढीमा भएको थियो । अब यात्री नवौँ, १०औँ, ११औँ र १२औँ दिनको बास धनुषाको पर्वता, धनुषाधाम, सतोषर र औरीमा गरी भारतको मधुवनी जिल्लामा पर्ने करुणामा १३औँ दिनको बासका लागि पुग्नेछन् ।

त्यसैगरी, १४औँ दिनको रात्रिबास पनि मधुवनीकै बिसौलमा गरेपछि यात्रीको लस्कर अन्तिम अर्थात् १५औँ दिनको रात्रिबासका लागि धनुषाको जनकपुरधामस्थित रङ्गभूमि मैदान पुग्नेछ । यसअघि दोस्रो र तेस्रो दिनको बास यात्रीले मधुवनीकै कलनास्थान र फुलहरमा गरिसकेका छन् । यसरी यो यात्रामा धनुषामा छ, महोत्तरीमा पाँच र भारतको मधुवनीमा चार रात्रिबासको परम्परा छ ।

यात्राको आठौँ दिन कञ्चनवनमा रङ अबिर खेलेर मिथिलामा ‘होरी’ पर्व विधिवत् सुरु हुन्छ । अन्तिम रात जनकपुरमा बिताएर १६औँ दिन बिहान अन्तर्गृह (पञ्चकोसी) परिक्रमा गरेपछि माध्यमिकी परिक्रमा यात्रा सम्पन्न हुने परम्परा छ ।

अघित्रेतायुगमा श्रीराम र सीताजीले विवाहपछि मिथिलाका विभिन्न तीर्थस्थलको भ्रमण गर्दै विहार गर्नुभएको सम्झनामा साधुसन्तले १८औँ शताब्दीमा परिक्रमा यात्रा प्रारम्भ गरेका मानिन्छ । यो यात्रा पारिवारिक र समस्त मानव कल्याण एवं मोक्षको कामना साथ गरिने अग्निकुण्डका मठाधीश महन्थ नवलकिशोर दास शरण बताउनुहुन्छ । मिथिलामा परिक्रमा सम्पन्न गरिएको भोलिपल्ट फागु पर्व मनाइने परम्परा छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर