पाँच किलो नुन ल्याउन अढाई हजार खर्च — OSNepal

पाँच किलो नुन ल्याउन अढाई हजार खर्च

LC (KTM) March 18, 2023 0

कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका–४ रुप्साका गणेश बुढा जिल्लाकै खाँडाचक्र नगरपालिका–१ मान्मस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको कार्यालयमा नुन लिन आए । उनलाई कार्यालयले अहिले अभाव रहेको भन्दै जम्मा पाँच किलो नुन दियो ।

बुढालाई नरहरिनाथ गाउँपालिकाबाट मान्म बजारसम्म नुन लिन आउँदाजाँदा २ हजार रुपैयाँभन्दा बढी खर्च लाग्यो । नरहरिनाथ गाउँपालिकाबाट मान्म आउनजान दुई दिन लाग्छ ।

बुढाले नरहरिनाथ गाउँपालिकाबाट कर्णाली राजमार्गसम्म आउन ५ सय रुपैयाँ गाडी भाडा तिरे । त्यहाँबाट मान्मसम्म आउन थप ३ सय रुपैयाँ गाडी भाडा लाग्यो । ‘मान्मसम्म आउँदा जाँदा मेरो करिब २ हजार ५ सय रुपैयाँ खर्च भयो,’ केही दिनअघि मान्ममा भेटिएका उनले भने, ‘पाँच किलो नुनको ४५ रुपैयाँ पर्छ । त्यही नुन ल्याउन अढाइ हजार रुपैयाँ खर्च भयो ।’ कालिकोटमा साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री गर्ने आयोडिनयुक्त एक किलो नुनको मूल्य नौ रुपैयाँ पर्छ ।

जिल्लामा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको एउटा मात्र कार्यालय हुँदा टाढाटाढाबाट आउने उपभोक्ताले पाँच किलो नुन ल्याउन आतेजाते दुईदेखि ३ हजार रूपैयाँसम्म खर्च लाग्ने नरहरिनाथ–१ की जुनिता भण्डाराले बताइन् ।

उनले भनिन्, ‘नुन किन्न जाँदा अभाव भएको भन्दै एकजनालाई पाँच किलो मात्र दिइन्छ । धेरै सदस्य भएका परिवारका लागि त्यो नुन एक महिनामै सकिन्छ । फेरि लिन जाँदाआउँदा त्यक्तिकै खर्च हुन्छ ।’ एकैपटक ५० किलो नुन किन्न खोज्दा नपाएर पाँच किलो बोकेर फर्कनुपरेको उनले बताइन् ।यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर