माडीको परशुराम कुण्डमा औंशीदेखि स्नान सुरु — OSNepal

माडीको परशुराम कुण्डमा औंशीदेखि स्नान सुरु

LC (KTM) March 22, 2023 0

चितवन-चितवनको माडीस्थित परशुराम कुण्डमा मङ्गलबारदेखि स्नान सुरु गरिएको छ । विशेषगरी चैते दशैँ एवम् रामनवमीका अवसरमा स्नान गरिने धार्मिक एवम् पुरातात्विक महत्व बोकेको परशुराम कुण्डमा औंशीदेखि स्नान सुरु भएको हो । स्नानका लागि आवश्यक व्यवस्था मिलाइएको गोद्धक क्षेत्र विकास संस्थाका अध्यक्ष तुलसिं गुरुङले जानकारी दिनुभयो । कुण्डसम्म जाने गोरेटो बाटो तथा कुण्ड सफाइ गरिएको उहाँले बताउनुभयो । कुण्डसम्म जान खोला एवम् चारकोसे झाडी पार गर्नुपर्ने भएकाले श्रद्धालु भक्तजनलाई सहजरुपमा जान आउन मिल्नेगरी झाडी सफाइ एवम् गारेटो मर्मत गरिएको हो । सरसफाइमा स्थानीय, वडा सञ्जाल, टोलविकास समूह एवम् युवा क्लबले सहयोग गरेका छन् ।

विगत दुई वर्षदेखि कोभिडको प्रभावका कारण कुण्डसम्म आउजाउमा रोक लगाइएका कारण गोरेटो बाटोसमेत भत्किएको थियो । झाडी र पहिराले पुरिएको स्थान एवम् कुण्ड सफाइ गरिएको गोद्धक क्षेत्र विकास संस्थाका सदस्य रामजी सापकोटाले बताउनुभयो । गोद्धकमा यही चैत १३ देखि १७ गतेसम्म भव्य गोद्धक राम चरित्रकथा यज्ञ हँुदै छ ।

प्रखरवाचक व्यासआचार्य गुरु चैतन्यकृष्णबाट सङ्गीतमय राम कथा वाचन हुने यज्ञ सम्पादन समितिका संयोजक भरत तिमिल्सिनाले जानकारी दिनुभयो । यज्ञसँगै गोद्धक मेलामा विभिन्न कक्षसहित खेलकुदका पिङहरु, हरेक दिन सांस्कृतिक कार्यक्रम, ठेलो फाल्ने प्रतियोगिता र भलिबल प्रतियोगिता हुने संस्थाका सचिव गङ्गा भुसालले जानकारी दिनुभयो ।

प्राचीन किंवदन्तीअनुसार यहाँ भगवान् परशुरामले तपस्या गर्नुभएको थियो । परशुरामले आफ्नै आमाको हत्या गरेर पाप मोक्ष (पाप पखाल्न) गर्न गोद्धक क्षेत्रमा रहेको देउता खोलाको सिरानको कुण्ड (परशुराम कुण्ड) मा पुगी स्नान गरेकोे धार्मिक विश्वास छ । धार्मिक महत्व बोकेको गोद्धक क्षेत्रमा चैत रामनवमीमा नेपाल र भारतका लाखौँ भक्तजन उपस्थित भई परशुराम कुण्डमा स्नान गरी गोद्धक क्षेत्रको मेला भर्ने परापूर्वकालदेखिको इतिहास छ । परशुराम कुण्ड बस्तीदेखि करिब चार किलोमिटर जङ्गलभित्र चितवन राष्ट्रिय निकुञ्जमा पर्छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर