दिनभरको काम, बयासी रुपियाँ दाम — OSNepal

दिनभरको काम, बयासी रुपियाँ दाम

LC (KTM) April 07, 2023 0

स्याङ्जा, चैत २४ गते । ६० वर्षीय किसान घिले मन्दिरमा नगरा बजाउन थालेको २१ वर्ष पूरा भयो। सरकारी जागिर खाएको भए उहाँको अहिलेसम्म पेन्सन पाक्थ्यो तर उहाँ अहिले पनि दैनिक ८२ रुपियाँ १३ पैसामा काम गर्दै आउनुभएको छ। अहिलेसम्म कुनै पनि नियमले घिलेको काम र श्रमलाई सम्बोधन गर्न सकेको छैन।

कालीगण्डकी गाउँपालिका–३ स्थित आलमदेवी मन्दिरमा नगरा बजाउने घिलेको दैनिकी वर्षौंदेखि उस्तै छ। जिल्लाकै दुर्गम मानिएको कालीगण्डकी गाउँपालिकामा थुप्रै बाटा बनेका छन्। यहाँका ८० प्रतिशत नागरिकको घरमा धारो र बिजुली बत्ती पुगेको छ। गाउँपालिकामा शिक्षा र स्वास्थ्यका क्षेत्रमा विकासको गतिले ठूलै फड्को मारेको छ तर शाह वंशीय कुल मन्दिरको अगाडि रहेको सानो घरको कोठामा नगरा बजाउने ६० वर्षीय घिलेको दैनिकीमा कुनै परिवर्तन आएको छैन।

१७०८ सालदेखि बराजुहुँदै बुवा र बुवाको मृत्युसँगै किसान घिलेले पुस्तैनी पेसाका रूपमा मन्दिरमा दमाहा बजाउनुहुन्छ। उमेर हुँदासम्म कतै नगई पुर्खाको काम सम्हालेको घिलेले बताउनुभयो। उहाँले दुःखेसो पोख्दै भन्नुभयो, “उमेर पनि गयो, अब केही गर्न सक्दिनँ। जति दिए पनि यही मन्दिरमा काम गर्नुको विकल्प छैन।”

बिहान ५ बजे मन्दिरमा नगरा बजाउन पुग्ने घिले केही समयका लागि घर पुगेर सामान्य काम गरेर ८ बजे पुनः मन्दिर पुग्नुहुन्छ। पूजा नहुँदा २ बजेपछि घर जाने घिले घाम अस्ताउने बेलामा फेरि नगरा बजाउन मन्दिरमा हाजिर हुनुहुन्छ। गोर्खापत्र दैनिकमा खबर छ ।

आफन्तको बिहे, व्रतबन्ध, मर्दापर्दासमेत जान नपाउने दुखेसो गर्दै घिलेले निम्ता वा जानैपर्ने ठाउँमा छिमेकी तल्लो घरको भाइलाई एक दिनका लागि सहयोग गर्न आग्रह गरेर जाने गरेको बताउनुभयो। थोरै रकमले के नै हुन्छ तर बाबुबाजेको परम्परा धानेको बताउँदै घिलेले मन भएका भक्तजनले कहिलेकाहीँ ५०र६० रुपियाँ दिने गरेको बताउनुभयो। ऐतिहासिक महìव बोकेको मन्दिरको परम्परा बचाउन विगतमा योभन्दा अझ थोरै रकममा काम गरेको उहाँले उल्लेख गर्नुभयो। घिलेले उचित पारिश्रमिकको व्यवस्था गरिदिन सबैसँग आग्रह गर्दै आउनुभएको छ।

नगरा बजाउने घिलेको पारिश्रमिक थोरै रहेको बताउँदै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रित थापाले गुठी संस्थानबाट वार्षिक ८४ हजार र मन्दिरमा गरिने भेटी दानमा उठ्ने रकमबाट मन्दिरको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। उहाँले त्यसैबाट घिलेको वार्षिक ३० हजार रुपियाँ व्यवस्थापन गरिएको जानकारी दिनुभयो। मन्दिरको आर्थिक अवस्था कम हुँदा घिले मर्कामा परेको बताउँदै थापाले पालिकासँग समन्वय गरेर केही रकम थप गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर