जुम्लामा फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा खेती घट्दै — OSNepal

जुम्लामा फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा खेती घट्दै

LC (KTM) April 14, 2023 0

जुम्ला-पछिल्लो समय जुम्लामा फापर खेती गर्नेको सङ्ख्या घटेको छ । हिमाली भेगमा उत्पादन हुने फापर अन्नबालीमा जिल्लाका किसानमा ध्यान जान सकेको छैन ।व्यावसायिकरूपमा फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा लोपोन्मुख अवस्थामा पुगेको देखिन्छ । उच्च रक्तचाप तथा मधुमेहका बिरामीले फापरका परिकार खाने गर्छन् । यो परिकार सेवन गर्दा मधुमेह, उच्च–रक्तचाप, कब्जियत, मोटोपन घटाउन सहयोग पुग्ने र मानिसको स्मरणशक्ति बढाउन लाभदायक मानिन्छ ।

नेपालमा हाल तीते र मीठो गरी दुई थरीको फापरको उत्पादन हुँदै आएको छ । जुम्लामा आर्थिक वर्ष २०७८÷०८९ को तथ्याङ्कअनुसार ९० हेक्टर क्षेत्रफलमा ९९ मेट्रिक टन फापर उत्पादन हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले बताउनुभयो । जुम्लाको चन्दननाथ नगरपालिका–१ गौरीनन्द आचार्यले जिल्लामा पछिल्लो समयमा किसानले फापर खेती गर्न छाडेको जानकारी दिनुभयो ।

जिल्लामा उत्पादित रैथानेबाली पछिल्ला वर्षमा लोप हुँदै गएकोप्रति यहाँका किसानले चिन्ता गरेका छन् । खेतीयोग्य जमिनमा रैथाने बाली हराउन थालेको छ । अहिले कृषि पेशामा युवा जनशक्तिको आकर्षण छैन । खेतीयोग्य जमिनमा अहिले खेती गर्न छाडेर बाँझो बनाउन थालिएको छ । परम्परागतरूपमा खेती गर्ने पाका पुस्ताले मात्र रैथानबाली लगाउँदै आएका छन् । पुराना अन्नबाली उत्पादनमा युवाको चासो नै छैन ।

दशक अघिसम्म ग्रामीण क्षेत्रका उच्च भागमा फापरको खेती व्यापक हुन्थ्यो तर अहिले तिनको उत्पादनमा कमी भए पनि बजारमा माग भने बढेको तिला गाउँपालिका–१ स्थानीयवासी नर रावतको भनाइ छ । उत्पादन कम हुने हुँदा फापर खेती गर्न छाडेको र जति मेहनत गरे पनि उत्पादन न्यून हुँदा फापर बालीप्रति आकर्षण घटेको किसानहरू बताउँछन् ।

यता तिला–९ का किसान धनबहादुर बुढाले गाउँघरमा भन्दा सहर बजारमा फापरको महत्त्व बढ्दै गएको बताउनुभयो । जिल्लाका आठवटै स्थानीय तहले फापर खेतीलाई संरक्षण गर्नका लागि ध्यान नदिएको जिल्लाका किसान बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर