दाङमा यस वर्ष जडीबुटी निकासी घट्यो — OSNepal

दाङमा यस वर्ष जडीबुटी निकासी घट्यो

LC (KTM) April 24, 2023 0

दाङ-दाङमा यस वर्ष जडीबुटी निकासा घटेको छ । यस वर्ष जिल्लामा दुई लाख किलो बराबर जडीबुटी निकासा भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष आधाले निकासा घटेको हो । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीका अनुसार निजी वनबाट सबैभन्दा बढी कालीकाठ ७३ हजार पाँच सय ३० किलो निकासा भएको छ ।

यसपछि टिमुर ५३ हजार पाँच सय ८६ किलो निकासा भएको छ । काउलो २१ हजार आठ सय ७५ किलो, रिठा १४ हजार दुई सय किलो, मालागेडी १३ हजार पाँच सय किलो निकासा भएको छ भने तेजपात पाँच हजार पाँच सय किलो, दालचिनी सात हजार एक सय ४५ किलो, मालागेडी पाँच हजार किलो निकास भएको छ । जसमा निजी वनबाट एक लाख ९४ हजार तीन सय ३६ किलो र राष्ट्रिय वनबाट २९ हजार सात सय किलो गरी दुई लाख २४ हजार २६ किलो जडीबुटी निकासा भएको छ ।

दाङबाट बितेको एक वर्षमा करिब साढे चार लाख किलो जडीबुटी निकासा भएको थियो । डिभिजन वन कार्यालय घोराहीका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा राष्ट्रिय वन र निजी वन क्षेत्रबाट चार लाख ३८ हजार नौ सय ५२ किलो बराबरको विभिन्न प्रकारका जडीबुटी निकासी भएको थियो ।

वन नियमावलीमा तोकिएअनुसार राष्ट्रिय वनको जडीबुटी सङ्कलनको राजस्व लिने गरिए पनि निजी वनको जडीबुटी सङ्कलनको राजस्व पूर्णरुपमा छुट गरिएको छ । निजी वन क्षेत्रबाट उत्पादित जडीबुटीको उत्पादन र प्रवद्र्धनलाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य रहेकाले निकासीमा राजस्व छुट गरिएको सहायक वन अधिकृत चौधरीले बताउनुभयो ।

यसैगरी, राष्ट्रिय वन क्षेत्रबाट सबैभन्दा बढी दारुहल्दी सात हजार सात सय किलो निकास भएको छ । तेजपात पाँच हजार किलो, टिमुर चार हजार पाँच सय किलो निकासा हुँदा कालीकाठ चार हजार किलो निकासा भएको छ । रिठा तीन हजार किलो, दालचिनी तीन हजार किलो, मालागेडी तीन हजार किलो निकासा हुँदा दुई लाख ३३ हजार पाँच सय राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । राष्ट्रिय वनबाट विभिन्न १५ प्रकारका जडीबुटी सङ्कलनको अनुमति दिइएकोमा निजी वन क्षेत्रबाट १३ प्रकारका जडीबुटी सङ्कलनको अनुमति दिइएको थियो ।

यसअनुसार अघिल्लो वर्ष राष्ट्रिय वन क्षेत्रबाट टिमुर २९ हजार पाँच सय ५० किलो, रिठागेडी १६ हजार किलो, मालागेडी १४ हजार पाँच सय किलो, तेजपात सात हजार किलो, अमला तीन हजार किलो, बर्रो एक हजार पाँच सय किलो, लहरे गुर्जो दुई हजार पाँच सय किलो, ब्राहमी एक हजार किलो र चुत्रो दुई हजार किलो निकासी हुँदा रु छ लाख ५३ हजार राजस्व सङ्कलन गरेको डिभिजन वन कार्यालय घोराहीले जानकारी दिएको छ । यो वर्ष कम निकासा हुँदा राजस्व पनि घटेको छ ।

पछिल्ला केही वर्षयता जिल्लाबाट जडीबुटीको उत्पादन र निकासी परिणाम बढ्दै गएको बेला यो वर्ष निकासा अपेक्षितरुपमा हुन सकेको छैन । जडीबुटी खेतीको प्रवद्र्धन गर्दै वनका माध्यमबाट उपभोक्ताको आयआर्जनमा वृद्धि गर्ने गत वर्षदेखि जडीबुटी खेती गर्न डिभिजन वन कार्यालयले प्रोत्साहन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर