धवलागिरिको चुचुरोतर्फ लागे आरोही — OSNepal

धवलागिरिको चुचुरोतर्फ लागे आरोही

LC (KTM) May 16, 2023 0

म्याग्दी-करिब एक महिनाको पर्खाइपछि आरोहीहरु म्याग्दीस्थित धवलागिरि हिमालको चुचुरोतर्फ लागेका छन् । आठ हजार एक सय ६७ मिटर अग्लो उक्त हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । गत चैत महिनाको अन्तिम सातादेखि आधार शिविरमा रहेका आरोहीहरु धवलागिरिको चुचुरोको नजिकै पुगेका त्यहाँ रहनुभएका छेपाल शेर्पाले आफ्नो फेसबुकमार्फत जानकारी गराउनुभएको छ ।

छ हजार एक सय मिटर उचाइको धवलागिरिको दोस्रो आधार शिविरबाट सोमबार करिब सात हजार मिटर उचाइमा रहेको तेस्रो शिविरमा आरोही पुगेका उहाँले बताउनुभयो । धवलागिरिको पहिलो, दोस्रो र तेस्रो आधार शिविरसम्म शेर्पाहरुले आरोहीका लागि बाटो बनाइसकेका छन् ।

दैनिकजसो पानी परेको र हिमपात भएकाले आरोहीहरुलाई समस्या भए पनि स्पेनका ८३ वर्षीय कार्लोस सोरियाको टोली क्याम्प–३ मा पुगेको छ । मौसमले साथ दिएमा मङ्गलबार चौथो आधार शिविर पुग्ने तयारी गरेको उक्त टोली बुधबारसम्म धौलागिरिको चुचुरो चुम्ने योजनामा छ ।

कार्लोसको आरोहण दलको नेतृत्व सेभेन समिट टे«किङ कम्पनीका मिङ तेम्बा शेर्पाले गर्नुभएको छ । यो उहाँको १३औँ पटकको प्रयास हो । गत वर्ष १२औँ पटकको प्रयासमा कार्लोस सात हजार मिटरको उचाइमा पुगेर फर्किनुभएको थियो ।

धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गर्नुभएका उहाँको दुई दशकयता १२औँ पटक आरोहण गर्दा पनि धौलागिरिको चुचुरोमा पुग्ने सपना पूरा हुनसकेको थिएन । पर्यटन विभागका अनुसार वसन्त ऋतुको यस याममा २४ पुरुष र ११ महिलाले धवलागिरि हिमाल आरोहणको अनुमति लिएका छन् ।

सेभेन समिटका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईंले आफ्नो कम्पनीबाट २६ जनाले धवलागिरि हिमाल चढ्न लागेका बताउनुभयो । आधार शिविर पुगेर हेलिकप्टरमा फर्किनुभएका म्याग्दी दानाका पर्यटनकर्मी इन्द्रसिंह शेरचनले आरोहीहरु चुचुरोमा पुग्न अनुकूल मौसमको पर्खाइमा रहेका बताउनुभयो । “वैशाखमा धेरै हिउँ परेकाले आरोहणका लागि आएकाहरु बेसक्याम्पमा एक महिनाभन्दा धेरै समय बस्नु परेको थियो,” पर्यटकको उद्धार र व्यवस्थापकीय कार्यमा संलग्न उहाँले भन्नुभयो, “मौसम परिवर्तन, तापक्रम वृद्धि र वातावरणीय प्रदूषणको असर हिमालमा पनि परेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर