भ्रष्टाचार विरुद्धको अभियानमा कांग्रेस खरो रुपमा उभिन्छ : नेता केसी — OSNepal

भ्रष्टाचार विरुद्धको अभियानमा कांग्रेस खरो रुपमा उभिन्छ : नेता केसी

LC (KTM) June 09, 2023 0

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले भ्रष्टाचार विरुद्धको अभियानमा कांग्रेस खरो रुपमा उभिने बताउनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घले आज यहाँ आयोजना गरेको ‘काठमाडौँ तदर्थ समिति घोषणा’ सभामा उहाँले भ्रष्टाचारीलाई जोगाउन कांग्रेस नलाग्ने बताउनुभयो । “कांग्रेस भ्रष्टाचार विरुद्धको अभियानमा खरो रुपमा उभिन्छ, कांग्रेसले भ्रष्टाचारीलाई जोगाउँदैन”, उहाँले भन्नुभयो ।

नेता केसीले कांग्रेसले आउने दिनमा विद्यार्थी, तरुण युवा, महिला, दलित, जनजाती, होटल व्यवसायीलगायतलाई सही ढङ्गले परिचालन गरेर सङ्गठन निर्माणमा लाग्ने बताउनुभयो । उहाँले भर्खरै निर्माण भएको तदर्थ समितिले सबैलाई समेटेर अगाडि बढ्न आग्रह गर्नुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घलाई पार्टीको भ्रातृ संस्थाको रुपमा मान्यता दिन आफूले पहल गर्ने बताउनुभयो । उहाँले देशभरका ८० हजार होेटल व्यवसायीले लाखौँ युवालाई रोजगारी प्रदान गर्दै आएको भन्दै होटल व्यवसायीको सम्मानमा सरकार लाग्नुपर्ने बताउनुभयो । ग्राहकलाई सन्तुष्टि दिने गरी काम गर्न उहाँले सम्पूर्ण होटल व्यवसायीलाई आग्रह गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारले नेपाली खानालाई अन्तरराष्ट्रियस्तरमा पुर्याउन नेपाली होटल व्यवसायीले महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले व्यवसायीको समस्यालाई समाधान गर्न नयाँ कार्यसमिति लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य सीता देवकोटाले कांग्रेसलाई बलियो बनाउन देशभरका होटल व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो । कांग्रेस बागमती प्रदेशका सदस्य इन्द्रमान महर्जन, होटल व्यवसायी अमृत भुजेल, कांग्रेस युवा नेता शैलेश कार्कीलगायतले व्यवसायीको सुरक्षाका लागि सरकार लाग्नुपर्ने बताउनुभयो । सङ्घका केन्द्रीय उपाध्यक्ष दिपेन सुवेदीले देशभर नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घको तदर्थ समिति गठन गरिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर