बागमती प्रदेशद्वारा दुग्ध किसानलाई ३० करोड अनुदान — OSNepal

बागमती प्रदेशद्वारा दुग्ध किसानलाई ३० करोड अनुदान

LC (KTM) July 09, 2023 0

बागमती – बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा दुग्ध किसानलाई रु ३० करोड अनुदान दिएको छ । प्रदेशभित्रका दुई सय २२ सहकारीमार्फत किसानलाई प्रतिलिटर ३ रुपैयाँ ५३ पैसाका दरले अनुदान दिएको हो ।

मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेका अनुसार गत आर्थिक वर्षमा रु १६ करोडमात्रै प्रतिलिटर एक रुपैयाँ ६३ पैसाका दरले वितरण गरिएको थियो । प्रदेशले आव २०७५÷७६ मा कार्यविधि बनाएर दुग्ध उत्पादक किसानलाई अनुदान दिन सुरु गरेको हो । कार्यविधिमा दोहोरो नपर्ने गरी अनुदान दिन सकिने व्यवस्था रहेको छ ।

यसै कारण स्थानीय पालिकाले अनुदान दिएका चितवनका तीन पालिकाका किसानलाई अनुदान दिन नसकिएको उहाँले जानकारी दिनुभयो । भरतपुर, राप्ती र माडी नगरपालिकाका ७० वटा सहकारीका किसानलाई अनुदान दिन नसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चाहेर नभएर कार्यविधिले रोकेर दोहोरो अनुदान दिन सकिएन ।” कार्यविधिमा त्यो व्यवस्था नभएको भए अनुदान दिन सकिने उहाँको भनाइ छ ।

भरतपुर महानगरपालिकाले प्रतिलिटर रु तीन, माडी नगरपालिकाले रु चार र राप्ती नगरपालिकाले ५० पैसा अनुदान दिँदै आएका छन् । अनुदान रकम दोहोरो परेर रोकिएपछि किसान भने आन्दोलित भएका छन् । अनुदानका लागि किसानलाई बैंक खातासमेत खोल्न लगाएर अन्तिम समयमा अनुदान रोकेको किसानको गुनासो छ । उनीहरूले कार्यविधि सच्याएर भए पनि अनुदान दिनुपर्ने माग गरेका छन् ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर