स्वास्थ्य क्षेत्रको सुधार र व्यवस्थापन गर्दैछौँ : मुख्यमन्त्री शाह — OSNepal

स्वास्थ्य क्षेत्रको सुधार र व्यवस्थापन गर्दैछौँ : मुख्यमन्त्री शाह

LC (KTM) July 11, 2023 0

महेन्द्रनगरसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यहाँको स्वास्थ्य क्षेत्रको सुधार र व्यवस्थित गर्दै लैजाने कुरामा प्रदेश सरकार सक्रियताका साथ अघि बढेको बताउनुभएको छ ।

महेन्द्रनगरमा आज आयोजित कञ्चनपुर पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले नयाँ आर्थिक वर्षको बजेटमा पनि स्वास्थ्य क्षेत्रलाई क्षमताले भ्याएसम्मको समावेश गरिएको उल्लेख गर्नुभयो । खोपको महत्वबारे ९० प्रतिशत नागरिकलाई कोरोना महामारीका बेला जानकारी भएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकार खोप अभियान निरन्तर गर्ने र त्यसका लागि आवश्यक तयारीका साथ अघि बढ्ने बताउनुभयो ।

“बजेटमा समावेश गरिएको स्वास्थ्य क्षेत्रको विषय प्रर्याप्त भयो भन्ने होइन”, उहाँले भन्नुभयो । आगामी आर्थिक वर्षका लागि सुदूरपश्चिमले यर्थातपरक बजेट ल्याएको मुख्यमन्त्री शाहको भनाइ थियो । आफ्नो आयस्रोत र साधनस्रोतको अवस्था हरेर सोही अनुसार आगामी आर्थिक वर्षको बजेट ल्याइएको उहाँले दाबी गर्नुभयो ।

महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन जडानका लागि नयाँ बजेटमा रकम विनियोजन गरिएको उहाँले जानाकारी दिनुभयो । “महाकाली अस्पतालमा सो सेवा दिनु निकै आवश्यक छ”, मुख्यमन्त्री शाहले भन्नुभयो ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दयाकृष्ण पन्तले यसअघि पालिकास्तरमा पूर्णखोप सुनिश्चितता गरिएको जानकारी दिनुभयो । गत वैशाखमा छुटेकालाई खोप लगाउनकै लागि खोप महिनाका रुपमा मनाएको उहाँले बताउनुभयो ।

पन्तले भन्नुभयो,“कञ्चनपुरमा एक सय ३९ खोप केन्द्रबाट खोप अभियान सञ्चालन गरिएको हो ।” उहाँले टोल–टोल, घर–घरमा पुगेर महिला स्वास्थ्य स्वय्म सेविका तथा स्वास्थ्यकर्मीको टोली खोप अभियानका क्रममा खटिएको बताउनुभयो । सो अवसरमा कञ्चनपुरका नौवटै पालिकाबाट एक÷एक महिला स्वास्थ्य स्वय्म सेविका तथा स्वास्थ्यकर्मीलाई नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य मधु भारती, यहाँका नौवटै पालिकाका प्रमुख÷तथा उपप्रमुख, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी र सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा जगदीश जोशीलगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर