अर्जुनधारा जलेश्वरधाम मन्दिरमा ५० हजार बढीले गरे जलार्पण — OSNepal

अर्जुनधारा जलेश्वरधाम मन्दिरमा ५० हजार बढीले गरे जलार्पण

LC (KTM) July 18, 2023 0

झापा-पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधाममा सोमबार ५० हजार बढीले जलार्पण गरेका छन् । बिहान ४ बजेदेखि मन्दिरमा भक्तजनले जलार्पण सुरु गरेका थिए । जलार्पण कार्यक्रमसँगै रुद्राभिषेक, भक्तजनको लागि परिक्रममा मार्गको व्यवस्थापन, सुरक्षाको व्यवस्थापनलाई मजबुत बनाइएको थियो । जलार्पणका लागि आउने भक्तजनको लागि विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा पानी, सर्बत, सातु, प्रसाद आदिको व्यवस्थापन गरिएको अर्जुनधारा धाम समितिका कोषाध्यक्ष मनोज जोशीले बताउनुभयो ।

उहाँले साउन २ गतेदेखि एक महिनासम्म मन्दिरमा दैनिक ११ बजेदेखि १ बजेसम्म पुरुषोत्तम महात्मे कथा प्रवचन हुने बताउनुभयो । मन्दिरमा भक्तजनको भीड लागेपछि त्यसलाई व्यवस्थित गर्न हम्मेहम्मे परेको थियो । विशेष गरी अर्जुनधारा, जलेश्वर, कनकाईलगायतका मन्दिरमा झापाका विभिन्न स्थानदेखि इलाम, पाँचथर, ताप्लेजुङ र छिमेकी मुलुक भारतको पानीट्याङ्की, खेरिबारी, नक्सलबाडीलगायत स्थानका भक्तजन शिवालयमा भेला भएका छन् ।

जिल्लाका डेढ दर्जन बढी शिवालय मन्दिरमा आज बिहानैदेखि जल चढाउने भक्तजनको घुइँचो लागेको थियो । साउन महिना र सोमबार भगवान् शिवको महिना र बारको रुपमा लिइन्छ । साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास पनि गरिन्छ । जसका कारण शिवालयमा भगवान शिवको पूरा आराधाना गर्नेको भीड लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर