प्राविधिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून : विद्यार्थी ल्याउन महानगरको सक्रियता — OSNepal

प्राविधिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून : विद्यार्थी ल्याउन महानगरको सक्रियता

LC (KTM) July 26, 2023 0

वीरगञ्ज-प्राविधिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएपछि वीरगञ्ज महानगरपालिकाले विद्यार्थी ल्याउन सक्रियता बढाएको छ । वीरगञ्ज वडा नम्बर २४ र २८ स्थित प्राविधिक विद्यालयमा विद्यार्थीको अभाव हुँदा सञ्चालनमा कठिनाइ आएको भन्दै महानगरपालिकाले विद्यार्थी पठाएर सहयोग गर्न जिल्लाका सबै पालिका प्रमुखसँग आग्रह गरेको छ । महानगरपालिकाद्वारा आज आयोजित जिल्लाका १४ वटै पालिकाका प्रमुखसँगको अन्तरक्रिया कार्यक्रममा महानगर प्रमुख राजेशमान सिंहले प्राविधिक शिक्षा अहिलेको आवश्यकता भए पनि पछिल्लो समय प्राविधिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएकाले प्राविधिक शिक्षा अध्ययन गर्न चाहने पालिकाका विद्यार्थीलाई सम्बन्धित विद्यालयमा आउने वातावरण बनाइदिन आग्रह गर्नुभयो ।

वीरगञ्ज–२४ रामगढवामा रहेको शारदा प्राविधिक माविमा कृषि र पशु विज्ञानको अध्ययन हुने गरेको छ भने वडा नम्बर २८ सोलकपुरस्थित प्राविधिक माविमा पशु विज्ञानको अध्यापन हुने गरेको छ । ती दुवै प्राविधिक विद्यालयमा विद्यार्थीको सङ्ख्या कम भएपछि महानगरपालिकाले विद्यार्थी ल्याउने प्रयास थालेको महानगर प्रमुख सिंहले बताउनुभयो ।

सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी १८ महिने जेटिए, तीन वर्षे आइएससी (एजी) र भेटेरिनरी (पशु रोगको चिकित्सा वा उपचारसम्बन्धी) शिक्षा पठनपाठन हुँदै आएको छ । विद्यालयमा उक्त विषयको पठन पाठन निःशुल्क हुने भए पनि पर्सा जिल्लाका विद्यार्थीको उपस्थिति ज्यादै न्यून रहेको शारदा माविका प्रधानाध्यापक विनोद मेहताले बताउनुभयो । भएका विद्यार्थी पनि अन्य जिल्लाका रहेको उहाँले बताउनुभयो । सबै विषय अध्ययनका लागि सिटिइभिटीले ४०÷४० जनाको सिट सङ्ख्या तोकेको छ । तर तोकिएको सिट सङ्ख्याबमोजिम अहिले विद्यालयले विद्यार्थी पाउन सकेको छैन ।

कार्यक्रममा ठोरी गाउँपालिकाका प्रमुख लालबहादुर श्रेष्ठले ठोरीमा पशु शिक्षाको अध्ययन भइरहेको भन्दै कृषि शिक्षा अध्ययनका लागि आफ्नो ठाउँबाट विद्यार्थी पठाउने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले कृषि प्रधान देश भनिए पनि कृषिलाई पेशा र व्यवसाय बनाउन नसकिएको भन्दै अब स्थानीय सरकारले नीतिगतरूपमा नै लगानी गरेर कृषि क्षेत्र सुधार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कृषि उत्पादन वृद्धिका लागि कृषि प्राविधिक जनशक्तिको खाँचो रहेको भन्दै उहाँले वीरगञ्ज महानगरपालिकाको विद्यालयमा अध्यापन हुँदै आएको कृषि विज्ञान र पशु विज्ञान अध्ययनका लागि आफूहरूले विद्यार्थी उपलब्ध गराउने बताउनुभयो ।

कार्यक्रममा पोखरीया नगरपालिकाका प्रमुख प्रद्युम्नप्रसाद चौहान, बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिंगासन साह, कालिकामाई गाउँपालिकाका अध्यक्ष वशिष्ठ कुमार, धोविनी गाउँपालिकाका अध्यक्ष मदनप्रसाद चौहान, पकाहामैनपुर गाउँपालिकाकी उपाध्यक्ष सरफुन नेशा, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर