आलु बिक्रीबाट आम्दानी गर्दै गङ्गादेवका किसान,बिहानैदेखि बेलुकासम्म आलु खन्न र प्याकिङ गर्न भ्याइनभ्याइ — OSNepal

आलु बिक्रीबाट आम्दानी गर्दै गङ्गादेवका किसान,बिहानैदेखि बेलुकासम्म आलु खन्न र प्याकिङ गर्न भ्याइनभ्याइ

LC (KTM) July 31, 2023 0

रोल्पा-गङ्गादेव गाउँपालिकाका किसानलाई यतिबेला आलु स्याहार्न भ्याइनभ्याइ छ । उनीहरुको दैनिकी बिहानैदेखि बेलुकासम्म आलु खन्ने र प्याकिङ गर्नमै बित्ने गरेको छ । आजभोलि कोही आलु खनेर बोरामा प्याकिङ गर्न त कोही गर्न मोटर बाटोसम्म बोरा ओसार्न व्यस्त देखिन्छन् ।यहाँ माघ–फागुनमा रोपेको आलु जेठ अन्तिम साताबाटै खन्न सुरु भइसकेको छ । यहाँ हिउँदे र वर्षे गरी दुई किसिमको आलु उत्पादन हुन्छ । सिँचाइको पहुँच भएका ठाउँमा माघको पहिलो हप्तादेखि आलु खेती गरिन्छ भने सिँचाइको पर्याप्त सुविधा नहुने स्थानमा फागुन अन्तिम र चैतको पहिलो हप्तादेखि आलु खेती गरिने किसानको भनाइ छ ।

बाली स्याहार्न धेरै दुःख नहुने र छोटो समयमै उत्पादन दिनुका साथै आम्दानी पनि राम्रो हुने भएकाले गङ्गादेव गाउँपालिकाका अधिकांश किसान आलु खेतीतर्फ आकर्षित छन् । आलुले सामान्यतयाः ९० दिनमा प्रतिफल दिन सुरु गरिसक्छ ।

गङ्गादेव–३ का किसान पार्वती केसीलाई पनि वर्षभरिको घर खर्चको जोहो आलु खेतिबाटै हुन्छ । “हामिले घर खर्च चलाउने भनेकै आलुखेती हो । आलु किन्न व्यापारी घरमै आउँछन् बेच्नका लागि कुनै समस्या छैन”, केसीले भन्नुभयो । गङ्गादेव गाउँपालिकाका सबै वडामा आलु खेती राम्रो हुने भए पनि वडा नं. ३ आलुखेतीका लागि राम्रो मानिन्छ ।

आलु यहाँको मुख्य नगदेवाली भएकाले गाउँपालिकाको कृषि शाखाले आलु खेती विस्तार, बजारीकरणलगायतमा सहयोग गर्दै आएको गाउँपालिकाका कृषिशाखा प्रमुख टीका रामवलीले भन्नुभयो । यहाँ प्रत्येक किसानले न्यूनतम ३० देखि बढीमा दुई सय २० क्विन्टलसम्म आलु उत्पादन गर्ने गरेको उहाँको भनाइ छ ।

जेठ पहिलो सातादेखि हालसम्म यहाँबाट करिब १९ हजार क्विन्टल आलु बाहिर गइसकेको छ । यसपटक गङ्गादेवमा करिब ४० हजार क्विन्टल आलु फलेको र असोजसम्म सबै आलु बाहिरिसक्ने गाउँपालिकाका कृषि विकास शाखा प्रमुख वलीको भनाइ छ । यसपटक करिब रु १२ करोड बराबरको आलु बिक्री हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

यहाँ उत्पादन हुने आलु दाङ, बुटवल, पोखरा र काठमाडौँसम्म पुग्ने गरेको छ । गंगादेवगाउँपालिकाले विशेष त आलु पकेट क्षेत्र, आलु ब्लक कार्यक्रम जिल्ला, आलु बिकास कार्यक्रम खुमलटारसँगको समन्वयमा काम गर्दै आएको छ । गाउँपालिकाले चालु आवमा विज्ञ नै बोलाएर तालिम समेत दिने योजना बनाएको छ ।

गङ्गादेव गाउँपालिकामा आलु बीउका लागि रष्ट्रिक स्टोरको समस्या भएको हुदा आलुको बीउ सुधारका लागि विभिन्न खालका रष्ट्रिक स्टोर निर्माण गर्ने र किसानलाई बीउ सुधारको लागि नयाँ आलुको मूल तथा उन्नत बीउको पहिलो पुस्ता नै वितरण गर्ने लक्ष्य लिइएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुनले बताउनुभयो ।

उहाँले आलुको उत्पादन बढाउन ठाउँमा सिँचाइका पहुँच पुर्‍याउने समेत लक्ष्य लिइएको बताउनुभयो । “गङ्गादेव गाउँपालिकाले कृषिलाई विशेष प्राथामिकता दिएको छ । लुम्बिनी प्रदेशभर यहाँको आलुको चर्चा हुने गरेको छ”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर