त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला भर्ने दर्शनार्थीको भीड — OSNepal

त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला भर्ने दर्शनार्थीको भीड

LC (KTM) July 31, 2023 0

खोटाङ- हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा बोलबम मेला सुरु भएको तेस्रो साता पनि गेरुबस्त्रधारी दर्शनार्थी तथा भक्तजनको घुइँचो लागेको छ । हलेसी र हलेसी ओहोरदोहोर गर्ने बाटोमा सामूहिकरुपमा ‘बोलबम’ शब्द उच्चारण गर्दै घुमफिर गर्ने दर्शनार्थीको सङ्ख्या पनि उत्तिकै मात्रामा देखिएका छन् ।

साउनको पहिलो सोमबारदेखि सुरु भएको बोलबम मेलाको अवसरमा पैदल तथा यातायातका सवारी साधनमार्फत दर्शनार्थी तथा भक्तजन हलेसी आउने गरेका छन् । हलेसीमा लागेको बोलबम मेलामा नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुरधाम, झापा, विराटनगर, इलाम, भारतको सिक्किम, दार्जिलिङ, गान्तोक तथा भुटान, चीनको तिब्बत् लगायतका देशबाट दर्शनार्थी एवं भक्तजन आएका छन् । मनोकांक्षा पूरा हुने विश्वासका साथ हलेसीमा साउनको प्रत्येक सोमबार विभिन्न नदीबाट ल्याइएका जल चढाउने गरिन्छ ।

हलेसीमा देश तथा विदेशबाट आएका हिन्दू धर्मावलम्बीले नुहाएर व्रत बस्नुका साथै महादेव, पार्वती र गणेशलाई जल चढाउने गर्छन् । प्राकृतिक रुपलेसमेत विश्व प्रसिद्ध हलेसीमा विवाहिता महिलाले आफ्नो श्रीमान्को दीर्घायु र परिवारको सुखसमृद्धिको कामना गर्दै र अविवाहिता महिलाले असल श्रीमान् पाउने कामना गर्दै पूजाअर्चना गर्ने प्रचलन छ । पवित्र जल तथा बेलपत्रले शिवको पूजाआराधना गरे आफ्नो मनोकांक्षा पूरा हुने र सुख तथा शान्ति मिल्ने विश्वास छ ।

बोलबमको अवसरमा हलेसी आएका दर्शनार्थीका कारण अहिले हलेसीका साना तथा ठूला होटल भरिएका छन् । साउन लागेयता हलेसी र जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहापोखरीमा हरियो कपडा, चुरा र मेहन्दीमा सजिएका महिला तथा रातो गेरु रङ्गको पहिरनमा सजिएका पुरुषकोसमेत घुइँचो लागेको छ । तराईबाट हलेसीसम्म आउने र जाने सडक विस्तार भएपछि मात्र हलेसीमा बोलबम मेला लाग्न थालेको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले बताउनुभयो ।

तराईबाट सिधैँ कटारी–घुर्मी–जयराम हुँदै हलेसीसम्मको यातायात सेवा विस्तार भएपछि बोलबमको अवसरमा दर्शन गर्न र मेला भर्न जिल्ला आउने दर्शनार्थीको सङ्ख्या वर्सेनि बढ्दो रहेको हलेसी मन्दिर व्यवस्थापन समितिले जनाएको छ । हलेसीमा लागेको मेलालाई व्यवस्थित गर्न सुरक्षाकर्मी, मन्दिर व्यवस्थापन समिति तथा स्थानीय क्लबमा आवद्ध पदाधिकारी बिहानैदेखि खटिने गरेका छन् ।

तराईलगायत राजधानी काठमाडौँबाट सिधैँ रिजर्भ गरेर ल्याएका यातायातमार्फत आउने दर्शनार्थी सोही दिन फर्कने गरेका छन् । भाडाका सवारी साधनमार्फत हलेसी आएका दर्शनार्थी तथा भक्तजनले होटल खचाखच भरिएको स्थानीय बासिन्दाले बताएका छन् ।

बोलबमको अवसर पारेर हलेसीमा लागेको मेलामा करोडौँको कारोबार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभयो । बोलबम मेलालाई व्यवस्थित र मर्यादित बनाउन नगरपालिकाको तर्फबाटसमेत कर्मचारी परिचालन गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ महादेविस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो ।

एउटै स्वरमा ‘बोलबम–बोलबम–बोलबम’ शब्द उच्चारण गर्दै खाली खुट्टा हातमा पानीको भाँडा बोकेर सामूहिकरुपमा हिँडेका दर्शनार्थी तथा भक्तजनको दृष्य निक्कै रोचक देखिने गरेको छ । बोलबमको अवसरमा दैनिक हजारौँको सङ्ख्यामा आएका दर्शनार्थी तथा भक्तजनले हलेसीको मेला भर्ने गरेको मन्दिर व्यवस्थापन समितिले नाएको छ । प्राकृतिक भू–बनोटको हिसाबले पनि विश्वकै नमूना मानिने हलेसीमा रामनवमी, शिवरात्रि, बालाचर्तुदशी, हरितालिका तीज, बोलबम लगायतमा ठूलो मेला लाग्ने गरेको छ । पछिल्लो समय त्रिधार्मिकस्थल हलेसीमा दर्शनार्थी तथा भक्तजनको बाल्लो भीड लाग्न थालेपछि आपराधिक घटना हुन नदिन सिसी क्यामेरासमेत जडान गरिएको छ ।–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर