विदेशबाट आयातित धुलो दूधका कारण नेपालमा उत्पादित दूधले बजार पाउन सकेन — OSNepal

विदेशबाट आयातित धुलो दूधका कारण नेपालमा उत्पादित दूधले बजार पाउन सकेन

LC (KTM) August 19, 2023 0

चितवन-आयातित दूधका कारण जिल्लामा उत्पादित दूधले बजार पाउन नसकेको सरोकारवालाले गुनासो गरेका छन् । पशु सेवा विभाग र राष्ट्रिय दुग्ध विकास बोर्डले  आयोजना गरेको छलफलका वक्ताहरूले विदेशबाट आयातित धुलो दूधका कारण नेपालमा उत्पादित दूधले बजार पाउन नसकेको बताउनुभयो ।

आयातित दूधका कारण जिल्लामा उत्पादनसमेत कम हुँदै गएको उहाँहरुको भनाइ थियो । केन्द्रीय दुग्ध सहकारी सङ्घका उपाध्यक्ष भागिरथ तिमिल्सिनाले सरकार किसानप्रति जिम्मेवार बन्न नसक्दा कृषकले उत्पादन गरेको दूधले बजार पाउन नसकेको बताउनुभयो । सीमा नाकामा गरिएको खुकुलोपनको फाइदा ठूला व्यवसायीले लिने गरेको उहाँको आरोप छ । उहाँले भन्नुभयो, “लम्पी स्कीनका कारण दूध उत्पादन घटेको समयसमेतमा यहाँको दूधले बजार पाउन सकेको छैन ।”

अहिले उत्पादित दूधले बजार नपाउनु र गोदाममा धुलो दूधको स्टक रहनुले यो समस्या बढ्ने चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडका अध्यक्ष किशोर बगालेले बताउनुभयो । राष्ट्रिय दुग्ध विकास बोर्डले कृषकलाई गर्ने व्यवहारका कराण कृषकको उत्पादित दूधले बजार पाउन नसकेको गुनासो उहाँले पोख्नुभयो । उहाँले भन्नुभयो, “बोर्डले दूधको मूल्यमा एकरुपता ल्याउनुपर्छ ।”

नाकामा निगरानी नगर्दा भारतीय धुलो दूध ल्याएर नेपालमा घोलेर बेच्ने क्रम बढेको उहाँको भनाइ थियो । मैदाको गाडीमा दूध अवैधरुपमा भित्रिइरहेकाले यसलाई रोक्न राज्यले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । सरकारको कमजोरीका कारण कृषकले उत्पादन गरेको दूधले बजार पाउन नसकेको उहाँले बताउनुभयो ।

जिल्लाबाट दैनिक एक लाख ५० हजार लिटरभन्दा बढी दूध बाहिर जाने गरेको भए पनि अहिले यो घट्दो क्रममा रहेको र जिल्लाभित्रैसमेत खपत कम हुँदै गएको उहाँले जानकारी दिनुभयो । उहाँले थप्नुभयो, “सहकारीको दूध सङ्कलनमा दैनिक १६ हजार लिटरले कमी आएको छ ।”

सङ्घका सचिव कल्याण अधिकारीले तीन महिना अघिसम्म उत्पादन र खपत बराबर भएकोमा अहिले आएर बिक्री नहुनुले कृषक चिन्तित भएको बताउनुभयो । कार्यक्रममा कृषक शिवलाल कँडेल, ऋषीराम चापागाईँ, नन्दलाल दाहाललगायतले अहिले देखिएको समस्यामा सरकार गम्भिर बनेर लाग्न सुझाव दिनुभयो ।

कार्यक्रममा पशु सेवा विभागकी सहसचिव डा सुलोचना श्रेष्ठ, राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाका डा सूर्यप्रसाद पौडेल, राष्ट्रिय दुग्ध विकास बोर्डका उपकार्यकारी निर्देशक डा वालक चौधरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत राजन कार्कीलगायतले अहिले देखिएको समस्या समाधानका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । दूध खरिद गर्ने संस्थालाई दूधको मूल्यसूची टाँस्ने र आयातित दूधलाई नियन्त्रण गर्ने विषयमा कार्यालयले छलफल सुरु गरेको सो अवसरमा जानकारी दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर