पढ्दै कमाउँदै कार्यक्रमबाट कमाउँदै विद्यार्थी — OSNepal

पढ्दै कमाउँदै कार्यक्रमबाट कमाउँदै विद्यार्थी

LC (KTM) August 23, 2023 0

घोराही (दाङ), ६ भदौ- विद्यालयको गेटमा लेखिएको छ ‘विद्यालयभित्र लिएको ज्ञानलाई व्यवहारमा लागू गरौँ’ । त्यही ज्ञानलाई मूर्तरुप दिन दाङको सिद्धरत्ननाथ मावि नारायणपुरका विद्यार्थीहरु लागिपरेका छन् । विद्यालयले तीन वर्षअघि समयको माग र अभिभावककै चाहनाअनुसार कृषि विषय पढाइको थालनी ग¥यो । त्यही कृषि विषयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत नेपाल सरकारले सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रमसँग विद्यालयले जोड्ने काम ग¥यो ।

बिहानी शत्रको सैद्धान्तिक कक्षामा विद्यार्थीहरु एकाग्र भएर किताबमा भएका कुराहरुलाई कापीका पानामा भरिरहेका हुन्छन् । विद्यालयको त्यही सैद्धान्तिक ज्ञानलाई लिएर विद्यार्थी निकै आत्मविश्वासका साथ अभ्यासका लागि खेतबारीमा पुग्छन् ।

घोराही उपमहानगरपालिका–१० मा रहेको सिद्धरत्ननाथ मावि नारायणपुरका ६५ विद्यार्थी बिहान कक्षा कोठामा भेटिन्छन् भने दिनभर खेतबारीमा भेटिन्छन् । बिहान पढेको कुरालाई व्यवहारमा उतार्न उनीहरु दिउँसो खेतबारीमा भेटिने गरेका हुन् । विद्यार्थीहरुले कक्षामा सैद्धान्तिक ज्ञान र बारीमा सीप मात्रै सिकेका छैनन्, सीपलाई श्रम र उत्पादनसँग जोडेर आम्दानी पनि गर्ने गरेका छन् ।

विद्यालयको हातादेखि दुई किलोमिटर पर रहेको विद्यालयको आफ्नै चार बिगाहा जग्गा विद्यार्थीलाई पर्खिरहेको हुन्छ । विद्यालयको अटो रिक्सा चढेर विद्यार्थीहरु खेतमा पुग्छन् र सुरु हुन्छ प्रयोगात्मक अभ्यास । कामको बाँडफाँड गर्दै उनीहरु कोही ससाना बिरुवाको स्याहारसुसारमा लाग्छन्, कोही फुल्दै गरेको सिमीमा डोरी लगाउन थाल्छन् त कोही तयारी अवस्थाको बोडी टिप्न थाल्छन् । विद्यार्थीहरुका लागि खेतबारीमा आवश्यक पर्ने बीउ, मल, औजार उपकरण सबैको व्यवस्था विद्यालयले नै गरेको छ ।

तरकारी खेतीका लागि उपलब्ध गराएको स्थानमा तरकारी खेती, बिरुवा रोप्ने, गोडमेल गर्नेदेखि तयार भएका तरकारी टिप्न व्यस्त हुने गरेको विद्यार्थी रेणु डिसीले बताउनुभयो । विद्यालयमा पढेका कुराहरु खेतबारीमै व्यावहारिक रुपमा सिक्दै आम्दानी गर्न थालेपछि विद्यार्थीहरु उत्साहित भएको अर्का विद्यार्थी सविना बुढा क्षेत्रीको भनाइ छ ।

विद्यालयमा पढाइसँगै खेतबारीमा काम गरेर आम्दानी गर्न थालेपछि उनीहरु बेमौसमी तरकारी फलाउने काममा पनि खटिएका छन् । मौसमअनुसार भिन्डी, बोडी, खुर्सानी, काउली, काक्रासँगै च्याउलगायत अरू तरकारी उत्पादन गर्ने गरेको विद्यार्थी सम्झना पन्तले बताउनुभयो ।

उत्पादन भएको तरकारी बजारीकरणसँगै कृषि व्यवसायका लागि आवश्यक सामग्री जुटाउनका लागि विद्यालयले विद्यार्थीहरुका लागि अटोको व्यवस्था गरिदिएको छ । त्यही अटोका माध्यमबाट उत्पादन गरेको तरकारी बिक्री गर्ने गरेको विद्यार्थी रोमिङ चौधरीले बताउनुभयो ।

विद्यालयमा सुरु भएको पढ्दै कमाउँदै कार्यक्रमले कृषि विषयमा अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक अभ्याससँगै आम्दानी गर्ने स्रोत बनेको कृषि प्रशिक्षक पर्याप्त चौधरीले बताउनुभयो । तरकारी खेती गरेबापत विद्यालयमा २०, विद्यार्थीले ५० र विद्यार्थीलाई सघाउने कर्मचारीले ३० प्रतिशत पाउने र सो रकम बैंक खातामा जम्मा हुने गरेको छ । उनीहरुले अहिलेसम्म रु दुई लाख ५० हजार बराबरको तरकारी बिक्री गरिसकेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर