आमाहरुलाई पढाउँदै सेवानिवृत्त शिक्षक — OSNepal

आमाहरुलाई पढाउँदै सेवानिवृत्त शिक्षक

LC (KTM) August 26, 2023 0

बेनी (म्याग्दी), ९ भदौ : प्रकाश माध्यमिक विद्यालयबाट सेवानिवृत्त शिक्षक हरिकृष्ण सुवेदी आमाहरुलाई पढाउन पुनःस्वयंसेवक शिक्षकका रुपमा शिक्षण पेसामै फर्कनुभएको छ । पढ्ने रहर अधुरै भएका आमाहरुलाई लक्षित गरेर बेनीको मङ्गलाघाटमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयमा ६२ वर्षीय सुवेदीले स्वयंसेवक शिक्षकका रुपमा शिक्षण पेसालाई पुनःनिरन्तरता दिनुभएको हो ।

लामो समयसम्म प्रकाश माविको प्रधानाध्यापक भएर जिम्मेवारी पूरा गर्नुभएका सुवेदीले अस्थायीसहित ४३ वर्ष छ महिना १८ दिन शिक्षण गर्नुभएको थियो । विसं २०७८ फागुन १८ गते अनिवार्य अवकाश लिएर सेवानिवृत्त दैनिकीमा समय बिताउँदै आउनुभएका सुवेदी यही भदौ पहिलो सातादेखि उज्यालो वैकल्पिक विद्यालयमा जोडिनुभएको हो ।

आमाहरुले अध्ययन गर्दै आएको विद्यालयमा शिक्षकको अभाव भएको र विद्यालय व्यवस्थापन समितिबाट भएको आग्रहबमोजिम आफू स्वयंसेवक भूमिकामा पुनःशिक्षणमा फर्किएको उहाँले बताउनुभयो । “अधिकांश विद्यार्थी आमाहरु नै हुनुहुन्छ, उहाँहरुमा पढ्ने तीव्र इच्छाशक्ति छ, मेरो अनुभव र क्षमताले भ्याएसम्म उहाँहरुको सिकाइ उपलब्धि बढाउनतर्फ मेरो प्रयास रहन्छ”, सुवेदीले भन्नुभयो ।

सानो उमेरमा अध्ययन गर्न नपाएका, बीचैमा विद्यालय छाडेका महिला र आमाहरुलाई लक्षित गरेर बेनी सामुदायिक विद्यालय मातृ विद्यालय रहनेगरी विसं २०७१ देखि बेनीमा उज्यालो वैकल्पिक विद्यालय सञ्चालनमा आएको थियो । अहिले सामाजिक विकास कार्यालय सञ्चालनमा रहेको तत्कालीन महिला तथा बालबालिका कार्यालयको भुँइतलामा कक्षाकोठा व्यवस्थापन गरेर कक्षा १ देखि १० सम्म पठनपाठन सञ्चालन गर्दै आइएको छ ।

विद्यालयमा अहिले ३३ विद्यार्थी अध्ययनरत छन् । विविध कारणले बीचैमा पढाइ छाडेका महिला र आमाहरु नै विद्यालयका विद्यार्थी हुन् । जीवनको कुनै चरणमा शिक्षाको ठक्कर लागेर अध्ययन गर्न आउनुभएका आमाहरु विद्यार्थी भएकाले पनि पठनपाठन गराउन सहज भएको शिक्षक सुवेदीको भनाइ छ ।

“विद्यालयमा सबैभन्दा गाह्रो काम भनेको विद्यार्थीलाई प्रेरणा दिनु हो, उहाँहरु आफैँ पढ्नपर्छ भनेर विद्यालय आउनुभएको छ, पढ्ने उत्कृष्ट चाहना हुनु नै आधा सिकाइ हुनु हो, हामीले उहाँहरुको क्षमताको पहिचान गरेर सिकाइ उपलब्धि बढाउने गरी शिक्षण गर्ने जमर्को गर्छौं”, उहाँले भन्नुभयो । शिक्षाको अवसरबाट बञ्चित भएका आमाहरुलाई साक्षर गराउने कार्यमा सहभागी हुन पाउनु आफ्ना लागि पनि योगदान गर्ने अवसर रहेको सुवेदीको भनाइ छ ।

शिक्षक सुवेदीसहित विद्यालयमा नवनियुक्त तीन शिक्षकलाई शुक्रबार विद्यालयमा स्वागत गरिएको छ । सेवानिवृत्त जीवन आमाहरुलाई साक्षर बनाउने कार्यमा खर्चिनु आफैँमा स्वागतयोग्य र प्रशंसनीय रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

लामो समयसम्म एउटा विद्यालयको प्रधानाध्यापक भएर विद्यालयलाई उत्कृष्ट बनाउन सफल शिक्षक सुवेदीको आगमनले उज्यालो वैकल्पिक विद्यालयको समग्र शैक्षिक विकास र गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष शाक्यले बताउनुभयो । यस विद्यालयमा अहिले छ जना शिक्षक कार्यरत हुनुहुन्छ ।

विद्यालयमा अध्ययन गरेर दुई वर्षदेखि आमाहरुले एसइई परीक्षासमेत उत्तीर्ण गर्दै आउनुभएको छ । यस वर्षको एसइईमा नौ आमाहरु एसइईमा उत्तीण हुन सफल भएको विद्यालयका शिक्षक साहारा थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा ६० वर्षसम्मका आमाहरु अध्ययनरत हुनुहुन्छ ।

विद्यालय सञ्चालनमा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा विकास तथा समन्वय एकाइ र बेनी नगरपालिकाले सहयोग गरेका थिए । सहयोगको निरन्तरता नभएको र स्रोतको सुनिश्चिता नहुँदा सहयोग जुटाएर विद्यालयमा कार्यरत शिक्षकको तलब सुविधा उपलब्ध गराउनुपर्ने बाध्यता आएको विद्यालय व्यवस्थापन समितिका सहसचिव सन्दीप खत्रीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर