प्रधानमन्त्रीको चीन भ्रमणमा समेटिनुपर्ने विषयमा छलफल — OSNepal

प्रधानमन्त्रीको चीन भ्रमणमा समेटिनुपर्ने विषयमा छलफल

LC (KTM) August 28, 2023 0

गण्डकी, ११ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न चीन भ्रमणमा पोखरा तथा गण्डकी प्रदेशका उठ्नुपर्ने विषयका सम्बन्धमा आज पोखरामा छलफल गरिएको छ ।पोखरा उद्योग वाणिज्य सङ्घमा आयोजित छलफलमा वक्ताले प्रधानमन्त्रीको भ्रमणका क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा सीधा अन्तर्राष्ट्रिय उडान, कोरोला नाका सञ्चालनलगायतमा छलफल हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले सञ्चालनमा आएर पनि हालसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका सहरबाट सीधा उडान गर्ने विषयमा भ्रमणका क्रममा छलफल हुनुपर्ने बताउनुभयो । पोखरा विमानस्थलको हाल रहेको दुई हजार पाँच सय मिटरको धावन मार्गलाई थप पाँच सय मिटर बढाउने सम्बन्धमा पनि छलफल हुनु जरुरी रहेको उहाँले बताउनुभयो ।

नेपाल चीनबीचको कोरोला नाका सञ्चालनमा ल्याउने विषय पनि भ्रमणका क्रममा प्राथमिकतामा पर्नु आवश्यक रहेको उहाँको भनाइ छ । कोरोला नाका चीनका लागि पनि सहज हुने भन्दै उहाँले चीन र भारतका बीचको अन्तरदेशीय व्यापारका लागि पनि यो नाका सञ्चालनमा आउनु महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

पोखरालाई पर्यटकीय गन्तव्यका लागि सूचीकृत गर्नुपर्ने, पोखरामा महावाणिज्य दूतावास स्थापना गर्नुपर्ने, प्रविधिको हस्तान्तरणलगायतका विषयलाई पनि प्राथमिकतामा राख्न सकिने उहाँले बताउनुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान, कोरोला नाका सञ्चालनका साथै हङकङलगायतका सहरबाट पोखरामा सीधा उडानका विषय नै भ्रमणमा उठ्नुपर्ने प्रमुख विषय रहेको बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कसरी अन्तर्राष्ट्रिय उडान गर्न सकिन्छ भन्ने कुरा नै अहिलेको पहिलो आवश्यकता भएको बताउनुभयो । कोरोला नाका सञ्चालनमा ल्याउन सके यहाँबाट कैलाश तथा मानसरोवरको यात्रा गर्न सकिने उल्लेख गर्दै उहाँले त्यसबाट लाखौँ भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने बताउनुभयो ।

वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, मनि चेन्जर एसोसिएसन पोखराका अध्यक्ष रूपक मिश्र, माइकल कर्माचार्यलगायतले सङ्कटमा परेको पोखराको पर्यटनलाई बचाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । प्राथमिकता तय गरी प्रधानमन्त्रीको भारत भ्रमणमा उठ्नुपर्ने विषयका रूपमा लिपिबद्ध गरिने उक्त अवसरमा जानकारी गराइयो ।

यही भदौ १५ गते एक कार्यक्रमका सन्दर्भमा पोखरा आउन लाग्नुुभएका प्रधानमन्त्री दाहाललाई यस विषयमा भेटेर प्राथमिकताका विषयबारे अनुरोध गरिने नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर