खोलाखोल्सीको निहुरो सहर बजारमा — OSNepal

खोलाखोल्सीको निहुरो सहर बजारमा

LC (KTM) September 20, 2023 0

भोजपुर, ३ असोज- सडकको पहँुच विस्तार भएसँगै भोजपुर चोलन्ती, मझौलेको निहुुरो सहर बजारका भान्सामा पुग्न थालेको छ । भौगोलिक रुपमा दुर्गम मानिने यी स्थानको खोलाखोल्सी तथा वन पाखामा फल्ने निहुरो देशका ठूला सहरमा पुग्न थालेको हो । टेम्केमैयुङ– ५ चोलन्ती, मझौलेका स्थानीयवासीले वन जङ्गलबाट सङ्कलन गरेको निहुरो धरान, इटहरी, विराटनगर, झापा, काठमाडौँ लगायतका सहरमा जाने गरेको छ । सङ्कलित निहुरो घरबाटै बिक्री गर्दै आएको स्थानीयवासी डम्बर विष्टले बताउनुभयो । विगतमा त्यतिकै वन, पाखा खोलाखोल्सीमा खेर गइरहेको निहुरोले अहिले गाउँघरमा नै राम्रो मूल्य पाउने गरेको उहाँको भनाइ छ ।

‘‘सडकको पहुँच विस्तारपछि यहाँका वन पाखामा पाइने निहुरोले मूल्य पाएको छ’’स्थानीयवासी विष्टले भन्नुभयो,‘‘हामीले सङ्कलन गरेको निहुरो आफ्नै घरबाट बिक्री भइरहेको छ । गाउँमा खेर गइरहेको निहुरो अहिले सहरका भान्सामा पुग्ने गरेको छ । निहुरो बिक्रीबाट घरखर्च चलाउन सहज छ ।’’सङ्कलन गरेको निहुरो ठेकेदारहरुले घरमा नै आएर किन्ने गरेको स्थानीयवासी मीना बस्नेतले बताउनुभयो । सङ्कलन गरिएको निहुरो प्रतिकेजी २५ देखि ३५ मा ठेकेदारले लैजाने उहाँको भनाइ छ ।

पात भएको भन्दा डाँठ मात्र भएको निहँुरोले राम्रो मूल्य पाउने बस्नेतले बताउनुभयो । निहुरो बिक्रीबाट परिवारको घरखर्च धान्न सहज भएको उहाँले जानकारी दिनुभयो । सुरु सुरुमा प्रतिकेजी ४० देखि ४५ सम्ममा बिक्री गरेको उहाँको भनाइ छ । ‘‘हाम्रो जस्तो दुर्गम ठाउँको निहुरो बिक्री होला भन्ने मलाई लागेको थिएन’’उहाँले भन्नुभयो,‘‘अहिले यही निहुरो किन्न घरमा नै मान्छे आउँछन् । गाउँभरिका सबैजना वन जङ्गलमा गएर सङ्कलन गरेर ल्याएर बिक्री गर्दै आएका छौँ । निहुरो बिक्रीबाट राम्रै आम्दानी हुन्छ ।’’

चोलन्ती, मझौलेमा सङ्कलन भएको निगुरो स्थानीय बजारमा भन्दा पनि जिल्ला बाहिरका सहरमा जाने गरेको स्थानीयवासी एकराज विष्टले बताउनुभयो । एक जनाले एक दिनमा एकदेखि दुई डोकोसम्म निहुँरो सङ्कलन गर्ने उहाँको भनाइ छ ।‘‘ खोलाखोल्सीको निहुरो सहर बजारमा पुग्न थालेको छ’’ उहाँ भन्नुभयो,‘‘निहुरो हुर्किएपछि गाईबस्तुलाई सोतरको रुपमा प्रयोग गर्दै आएका थियौँ । अहिले त्यही निहुरोले मूल्य पाएको अवस्था छ । हामीले जति धेरै सङ्कलन गरेपनि बिक्रीको लागि कुनै समस्या छैन ।’’

स्थानीय बासिन्दाले वर्षातयाम सुरु भएपछि अर्थात जेठ असारबाट कात्तिक महिनासम्म निहुरो बेच्दै आएका छन् । वनजङ्गलमा सजिलै पाइने, निहुरो अर्गानिक हुने भएकाले सहरका मानिसको रोजाइँमापर्ने गरेको छ । तराईमा पाइने निहुरोभन्दा पहाडी क्षेत्रबाट जाने डौँठे निहुरोको बजारमा राम्रो माग रहेकोे स्थानीय निहुरो व्यापारी लालबहादुर विष्टले बताउनुभयो । यो वर्षबाट चोलन्ती,मझौले गाउँबाट मात्र आठ मेट्रिक टन निहुरो बाहिरका बजारमा लगेको उहाँले जानकारी दिनुभयो ।

गत वर्षको भन्दा यो वर्ष उत्पादनमा केही कमि आएको उहाँको भनाइ छ । गतवर्ष यहाँबाट दश मेट्रिक टन बढी निहुरो बाहिर लगेको व्यापारी विष्टले बताउनुभयो ।
‘‘पहाडको निहुरोको सहरका बजारमा राम्रो माग छ’’उहाँले भन्नुभयो,‘‘गाउँबाट हिँडेको पाँचदेखि छ घण्टामा यसलाई धरान, इटहरी पु¥याउछौँ । बजारमा पु¥याएपछि बिक्रीको लागि कुनै समस्या छैन । खास गरेर पहाडको डौठे निहुरो अचारको लागि बढी माग हुन्छ । मैले मात्र यो वर्ष आठ मेट्रिक टन निगुरो बाहिर लगेँ ।’’जैविक र मौसमी तरकारी निहुरो पौष्टिकताले भरिपूर्ण हुने भएकाले स्वास्थ्यका लागि फाइदाजनक रहेको पोषणविद्हरुको भनाइ छ ।

निहुरोमा प्रोटिन, क्याल्सियम, भिटामिन ‘ए’ लगायतका पोषकतत्व पाइने भएकाले बालबालिका तथा गर्भवती महिलालाई धेरै लाभदायक हुने उनीहरुको भनाइ छ । स्थानीयस्तरमा पाइने निहुरो बाहिरका बजारसम्म निर्यात हुने गरेकाले यसको उत्पादन र बजारीकरणको लागि गाउँपालिकाले आवश्यक पहल गर्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर योजनाबद्ध रुपमा काम गर्दै आएको उपाध्यक्ष राईको भनाइ छ ।

‘‘स्थानीय सरकार सञ्चालनमा आएपछि जनतालाई केही सहज भएको अवस्था छ’’उपाध्यक्ष राईले भन्नुभयो, ‘‘गाउँ÷गाउँमा कच्ची नै भए पनि कृषि सडक बनेकाले दुर्गम ठाउँका कृषि उपजले बजार पाएको अवस्था छ । अहिले किसानले घरबाट नै बिक्री गर्न सक्ने अवस्था छ । स्थानीयस्तरमा पाईने वस्तुको उत्पादनसँगै बजारीकरणमा गाउँपालिकाले पनि आवश्यक पहल गर्छ ।’’

ऊनीउ प्रजातीमा पर्ने निहुरो पहाड र तराई सबैतिरका वन जङ्गल तथा खोलाखोल्सीमा पाइने वनस्पति हो । निगुरो पहाडी क्षेत्रमा बढी मात्रामा पाइने भए पनि यहाँका गाउँघरका स्थानीयवासीले भने कमैले मात्र खाने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर