अधिकार बाँडफाँटमा सङ्कुचित हुनुहुँदैन : मुख्यमन्त्री चौधरी — OSNepal

अधिकार बाँडफाँटमा सङ्कुचित हुनुहुँदैन : मुख्यमन्त्री चौधरी

LC (KTM) September 20, 2023 0

लुम्बिनी, ३ असोज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानमा लेखिएका अधिकार कार्यान्वयन प्रमुख चुनौती रहेको बताउनुभएको छ । उहाँले संविधान कार्यान्वयन अधिकार बाँडफाँट संविधानअनुसार हुनुपर्ने बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा आज लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) मा आयोजित कार्यक्रममा मुख्यमन्त्री चौधरीले अधिकार बाँडफाँटमा सङ्कुचित हुनुनहुने र संबिधानमा लेखिएको अनुसार काम गर्न पाउनुपर्ने बताउनुभयो ।

संविधानमा सबैको भावना समेटिएको भन्दै उहाँले सबै भाषा, धर्म, संस्कृतिको संरक्षण गर्ने, सबैखाले विभेदको अन्त्य गर्ने विषयमा संविधान उत्कृष्ट रहेको तर यसको कार्यान्वयन सहजरूपमा हुन नसकेको बताउनुभयो ।

संविधान कार्यान्वयन गर्न सबै निकायबीचमा समन्वय र सहकार्य आवश्यक रहेको बताउँदै मुख्यमन्त्री चौधरीले संविधान कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । प्रदेशले गरेको प्रतिबद्धता पूरा गर्न केन्द्रको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उहाँको भनाइ छ ।

“संविधानमा भएका अधिकार चाँडै प्रदेशले प्राप्त गरोस् । संविधानमा लेखिएका कुराहरू दिनलाई कहाँ कन्जुस्याइँ भएको छ”, उहाँले भन्नुभयो, “जनतासँग नजिक हुनको लागि यो संविधानले महत्त्वपूर्ण योगदान दिएको छ ।”

सभामुख तुलाराम घर्तीमगरले राजनीतिक अस्थिरताका कारण सोचेका काम पूरा गर्न नसके पनि हाम्रो प्रदेशमा आवश्यक कानुन बनाउन सफल भएको बताउनुभयो । उहाँले प्रदेश सरकारप्रति आशा, भरोसा र विश्वास बढेको बताउँदै प्रदेश सरकार सबैको दिल, दिमागमा स्थापित भएको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सरकारका गृहमन्त्री सन्तोषकुमार पाण्डेले संविधान समावेशी र जनताको पक्षमा रहेको बताउनुभयो । उहाँले तीन तहको सरकारले काम गरेर संविधान कार्यान्वयनलाई पूर्णताः दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । त्यस अवसरमा संविधान दिवस मूल समारोह अघि विभिन्न किसिमका संस्कृति झल्कने झाँकीसहित प्रभातफेरी निकालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर