प्रदेश सरकारले सुशासन र विकासका क्षेत्रमा इमान्दारितापूर्वक काम गरिरहेको छ : मुख्यमन्त्री जम्कट्टेल — OSNepal

प्रदेश सरकारले सुशासन र विकासका क्षेत्रमा इमान्दारितापूर्वक काम गरिरहेको छ : मुख्यमन्त्री जम्कट्टेल

LC (KTM) October 02, 2023 0

मकवानपुर, १५ असोजः बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले सुशासन र विकासका क्षेत्रमा इमान्दारितापूर्वक काम गरिरहेको बताउनुभएको छ । आज बसेको प्रदेशसभाको बैठकको शून्य र विशेष समयमा प्रदेशसभा सदस्यहरुले उठाउनुभएको प्रश्नको जवाफ दिने क्रममा उहाँले भन्नुभयो, “सरकारले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको स्तरोन्नति, चिकित्सको दरबन्दी थपलगायतका काम गरेको छ ।”

मुख्यमन्त्री जम्कट्टेलले मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको विश्वविद्यालय बनाउन आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । उहाँले काठमाडौँ–हेटौँडा जोड्ने मातातीर्थ, हुमाने भञ्ज्याङ र कुलेखानी फाखेल सडकको स्तरोन्नति र कालोपत्रको काम आगामी माघभित्रै पूरा गर्ने गरी काम भइरहेको बताउनुभयो ।

चिकित्सा शिक्षालाई गुणस्तरीय एवम् पारदर्शी ढङ्गबाट सबै विद्यार्थीको पहुँचमा पु¥याउने उद्देश्यले हेटौँडामा सुलभ मूल्यमा विद्यार्थीले चिकित्सा शिक्षा पढ्न पाउने व्यवस्था मिलाउन सरकारले काम गरिरहेको उहाँको भनाइ छ ।

चालु आर्थिक वर्षदेखि प्रदेशका १३ वटै जिल्लाका विभिन्न जातिका कृषकलाई अत्याधुनिक कृषिमा आकर्षित गर्ने सरकारले काम गरिरहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो, “प्रदेशमा माछा, मासु, दूध, खाद्यान्न, च्याउ, तरकारी उत्पादन बढाइ सबै नागरिकहरुलाई आत्मनिर्भर बनाउने लक्ष्य सरकारले लिएको र सोहीअनुसार काम भइरहेको छ ।”

आजको बैठकमा नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकार कहाँ छ भनी प्रश्न गर्नुभयो । उहाँले प्रदेश सरकार जनताको सरोकारसँग भन्दा पनि आफ्नो गठबन्धन टिकाउनेमा लागेको आरोप लगाउनुभयो ।प्रदेशसभाका अर्को बैठक असोज १६ गते अपराह्न २ बजे बस्ने गरी स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर