प्रहरी महानिरीक्षक कुँवर बेलायत प्रस्थान — OSNepal

प्रहरी महानिरीक्षक कुँवर बेलायत प्रस्थान

LC (KTM) October 07, 2023 0

काठमाडौँ, २० असोज : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर बेलायत प्रस्थान गर्नुभएको छ । बेलायत सरकारको निमन्त्रणामा यही असोज २२ देखि २६ गतेसम्म आयोजना हुने ‘सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रम’मा सहभागी हुन उहाँ आज बेलायत प्रस्थान गर्नुभएको हो ।

महानिरीक्षक कुँवरसहित प्रहरी नायब महानिरीक्षक विष्णुकुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षकद्वय दानबहादुर कार्की र शेखर खनाल बेलायत प्रस्थान गर्नुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिदाइ गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रहरी र बेलायत प्रहरीका उच्च अधिकारीसँग सुरक्षा, अनुसन्धान र न्याय विषयमा भेटघाट तथा अनुभव आदानप्रदान गरिने बताइएको छ । पछिल्लो समय विकसित अपराधका चुनौतीहरूबारे अनुभव आदानप्रदान गर्नाका साथै ती चुनौतीहरूको सामना गर्न उपयुक्त कानुन, सीप, स्रोतसाधनको माध्यमद्वारा प्रयास गर्ने, सामुदायिक प्रहरी सेवा, यौनिक एवम् लैङ्गिक हिंसाका साथै बालबालिकाविरुद्ध हुने अपराधको समाधानलगायत विषयमा छलफल हुने कार्यक्रम तय भएको छ ।

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर