प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच सरकारलाई प्रभावकारी बनाउनेबारे छलफल — OSNepal

प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच सरकारलाई प्रभावकारी बनाउनेबारे छलफल

LC (KTM) October 07, 2023 0

काठमाडौँ, २० असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच सरकारको प्रभावकारिता, समाजवादी मोर्चाको अभियान, मुलुकको अर्थतन्त्र, संसद्को चालु अधिवेशन तथा संयुक्त राष्ट्र सङ्घका महासचिवको नेपाल भ्रमणलगायत विषयमा कुराकानी भएको थियो ।

भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले सरकारलाई प्रभावकारी बनाउनेलगायत समसामयिक विषयमा प्रधानमन्त्री दाहालसँग छलफल भएको जानकारी दिनुभयो । “सत्तारुढ दलहरुको बैठक बसेर सरकारलाई प्रभावकारी बनाउने, अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न विज्ञसँग छलफल गर्ने विषयमा कुराकानी भयो”, उहाँले भन्नुभयो ।

सत्ता गठबन्धनको बैठक बसेर दलका बीचमा विभिन्न मुद्दामा समान धारणा बनाउने विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो । दुई पार्टीबीचका सम्बन्धलाई घनिभूत र बलियो बनाउने विषयमा पनि गम्भीर कुराकानी भएको बताउनुभयो । “प्रदेश, जिल्ला र तल्ला कमिटीसम्म दुई पार्टीबीचका सम्बन्धलाई प्रभावकारी बनाउने, गुनासा तथा समस्या समाधान गर्ने बारेमा कुराकानी भयो”, उहाँले भन्नुभयो ।

भेटमा सरकारका विभिन्न निकायमा हुने नियुक्तिका बारेमा पनि कुराकानी भएको अध्यक्ष नेपालले जानकारी दिनुभयो । मन्त्री, नीति तथा आयोग एवं राजनीतिक नियुक्तिका सम्बन्धमा दलहरुबीच भएको सहमति पालना नभएकामा अध्यक्ष नेपालले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउनुभएको थियो ।
संयुक्त राष्ट्र सङ्घका महासचिवको आसन्न नेपाल भ्रमण, भेटघाट तथा संसद्मा सम्बोधनलगायत विषयमा प्रधानमन्त्रीसँग छलफल भएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर