ओल्गापुरीमा देखिएको उच्च कार्यसंस्कृति — OSNepal

ओल्गापुरीमा देखिएको उच्च कार्यसंस्कृति

LC (KTM) October 26, 2023 0

काठमाडौँ – व्यक्ति वा संस्थाले आफ्नो उद्देश्य प्राप्तिका लागि अवलम्बन गर्ने मार्गदर्शक मान्यताहरु हुन्छन् । समाज विकासको क्रममा अभ्यासबाट परिस्कृत हुँदै र सभ्यता विकास तथा धार्मिक, सांस्कृतिक एवम् अध्ययन अनुसन्धानका माध्यमबाट निश्चित आकार पाए ती मूल्यमान्यता नै विकास र प्रगतिका जग हुन् । चाहे व्यक्तिलाई बाटो देखाउने नैतिकता, करुणा, इमान्दारिता, साहस, करुणा भाव, परोकार जस्ता मार्गदर्शक गुण हुन् वा सामूहिकता, अनुशासन, नतिजा उन्मुखता, उत्पादकत्व, मानवीयता, सहकार्यजस्ता साङ्गठनिक मूल्यहरु वा सङ्गठनात्मक संस्कृति नै किन नहुन्, ती दुवैको विशेष अर्थ रहने गर्दछ ।

सङ्गठन भन्नेवित्तिकै त्यहाँ कार्यरत कार्यसमूह वा कर्मचारीतन्त्र के कस्तो छ भन्ने सरोकारको विषय हुन्छ नै । कर्मचारीतन्त्रका मूल्यमान्यताका रुपमा लिखित कानुन, राजनीतिक तटस्थता, पद सोपानमा आधारित कार्यविभाजन रहेका छन् । विश्वभर नै उपस्थिति जनाएको रेडक्रस सोसाइटीका आफ्नै सातवटा मूल्य मान्यता रहेका छन् । मानवीयता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, स्वेच्छिक सेवा, एकता र विश्वव्यापकता रेडक्रसका मूल्यमान्यता हुन् । सहकारी संस्थाको मूल्यका रुपमा आधार मूल्य र नैतिक मूल्य भनेर पहिचान भएको छ । आधार मूल्यहरुका रुपमा स्वाबलम्बन, स्वउत्तरदायित्व, लोकतन्त्र, समानता, समता र ऐक्यवद्धता रहेका छन् भने नैतिक मूल्यहरुमा इमान, खूलापन, सामाजिक उत्तरदायित्व र अर्काको ख्याल जस्ता अति महत्वपूर्ण विषयहरु समेटिएका छन् ।

यी सबै सङ्गठनहरुले आफूमा जोडिन आएका नागरिकलाई उल्लेखित मान्यतासहितको कर्मको मार्गमा डो¥याउँछन् । शैक्षिक संस्थाहरुको पनि आफ्नै मूल्यमान्यता हुन्छ । काठमाडौँ विश्वविद्यालयको मूल्यमान्यता भनेको गुणस्तरीय आधुनिक शिक्षा उपलव्ध गराउनु रहेको देखिन्छ भने दक्षिण कोरियाको आजु विश्वविद्यालयले मार्गदर्शक सिद्धान्तका रुपमा मानवप्रतिको सम्मान, तथ्यबाट सत्यको खोजी र एकविश्व एक परिवार गरी तीन मूल्य मान्यता अघि सारेको छ । पछिल्लो समयमा सूचना प्रविधि, सिर्जनशीलता र नवप्रवर्तन पनि साङ्गठनिक मूल्यमान्यतामा थप भएको छ ।
नेपाल युथ फाउण्डेसन ः ३० वर्षका उपलब्धिहरु

संस्थापक अध्यक्ष ओल्गा डि मुर्रेले नेपालका अनाथ बालबालिकाका लागि प्रेम, स्वास्थ्य, शिक्षा र समुदायको अभाव हुन नदिने गरी कोमल मनका साथ शुरुमा अमेरिकामा स्थापना गरेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो नेपाल युथ फाउण्डेसन । उनी अमेरिकी न्यायालयबाट सेवानिवृत्त भै परोपकारका क्षेत्रमा समर्पित महिला हुन् । उनी अहिले ९८ वर्षकी छन् । ओल्गाले नेपालको पहिलोपटक भ्रमण गरेको सन् १९८४ मा हो । त्यसैबखत परोपकार अनाथालय भ्रमण गरेपछि उनले नेपालमा मानवीय कार्यमा रुचि देखाइन् । लगत्तै उनले सहायता आवश्यक पर्ने जेहेन्दार तथा एसएलसी विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था मिलाइन् । सन् १९९० मा संयुक्त राज्य अमेरिकामा च्यारिटी सङ्गठनका रुपमा दर्ता भएको नेपाल युथ फाउण्डेसन सन् १९९२ मा समाज कल्याण परिषदमा आवद्धता प्राप्त गरी नेपालमा सक्रिय रहेको देखिन्छ । फाउण्डेसनले सिविन, खगेन्द्र नवजीवन केन्द्र, कान्ति बाल अस्पताल, तिलगङ्गा अस्पताल, बहिराहरुले शिक्षा पाउने विद्यालयलगायत थुप्रै सङ्घसंस्थालाई समेत सहायता उपलव्ध गराएको रहेछ ।
मूल मर्म वा मान्यताको कुरा गर्दा दयाभाव र करुणा नै नेपाल युथ फाउण्डेसनको मुख्य मार्गदर्शक मान्यता हो । ओल्गाको भनाइ “म त्यस्तो आध्यात्मिक र धार्मिक व्यक्ति हैन । जीवनमा मेरा दुई खास विश्वास छ न्याय र दयाभाव । दयाभाव र करुणाले धेरै अरु विषय त स्वत समेट्छन् । न्याय र दया भावमध्ये रोज्नुपर्दा मैले दयाभाव चयन गर्दछु । यस धर्तिमा लोकप्रिय र धनी नै किन नहुन् अरुप्रति राम्रो व्यवहार गर्दैनन् भने के अर्थ के महत्व र के उपयोगिता ? यदि कुनै व्यक्तिले दयाभाव देखाउँदैन र करुणा छैन भने त्यस्तो व्यक्तिलाई मैले वास्ता गर्दिन’’ भनेबाट पनि यो संस्थाको स्थापनाकालकै उद्देश्य र मान्यता प्रष्ट हुन्छ ।

नेपाल युथ फाउण्डेसनको संस्थागत मान्यताहरुका रुपमा करुणा, समानुभूति, स्वतस्फुर्तता, गुणस्तरीय सेवा र सेवामा पूर्णता रहेका छन् । परिस्थिति अनुसार दयालुपनका कर्महरु फरक हुन सक्छन् । यो संस्थाको नेपालस्थित शाखाले कमलरी मुक्तिपछि, भूकम्पपश्चातको अवधिमा, कोभिड १९ को महामारीको अवधिमा पनि समस्यामा रहेकाहरुप्रति करुणाभाव राखेर यथेष्ट रुपमा कामहरु गरेको छ । ललितपुर महानगरपालिकाभित्र पर्ने सैँवु भैँसेपाटीकै काखमा पर्ने स्थानमा फाउण्डेसनको स्वामित्वमा रहेको तालिम केन्द्र, अनाथ बालबालिकाहरु रहने होस्टल, कृषि उत्पादनसमेत हुन सक्ने संस्थाको स्वामित्व रहेको क्षेत्रलाई ओल्गाको योगदानको स्मरण हुने गरी ओल्गापुरी नाम राखिएको छ । यस क्षेत्रका संरचनाहरु सन् २०१३–२०१६ को अवधिमा निर्माण भएका हुन् ।

ओल्गापुरीले ओगटेको २५ रोपनी जमीनभित्र १०० जनासम्म बालबालिकालाई पारिवारिक वातावरणसहित आवास सुविधा उपलब्ध गराइएको छ । त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकासतर्फ स्नातकोत्तरका विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराउनेदेखि धादिङमा स्कूल सञ्चालन, कोभिडको लगत्तै देशका विभिन्न स्थानमा तालिम सञ्चालन गर्ने, ३० जनाले फाउण्डेसनकै सहयोगमा मानवअधिकार रक्षकका रुपमा कानुन विषय अध्ययन गरिरहेका छन् । ग्रामीण शिक्षा कार्यक्रम सन् १९९७ देखि, पोषण पुनःस्थापना गृहको कार्यक्रम सन् १९९८ देखि प्रारम्भ भएको छ । त्यसैगरी देशका १६ भन्दा बढी स्थानमा पोषण पुनःस्थापना केन्द्रहरु सञ्चालनमा रहेका छन् । सन् २००० प्रारम्भ भएको कमलरी मुक्तिसम्बन्धी कार्यक्रमबाट १३ हजारभन्दा बढी कमलरीहरु लाभान्वित भएका छन् । अहिले पनि उनीहरुले सीपमूलक तालिम प्राप्त गरी व्यवसाय सञ्चालन गर्न सक्षम हुने अवसर प्राप्त गरेका छन् ।

सन् २००० मा धादिङ्गमा सुनौलो छोवा सामुदायिक विद्यालय प्रारम्भ भएको थियो । अङ्कुर काउन्सेलिङ्ग कार्यक्रम सन् २००७ देखि र किन्ससिप केयर सन् २००४ देखि सञ्चालनमा छ । दलित छोरीहरुको सशक्तीकरण २००६ देखि र व्यावसायिक शिक्षा तथा वृत्ति परामर्श २००७ देखि शुरु भएको छ । पछिल्लो समयमा दलित कानुन व्यवसायी २०२२ मा र जातीय समानता परियोजना २०२३ मा शुरु भएको रहेछ । शिशु पुनःस्थापनाबाट प्रारम्भ भएको अभियानलाई क्रमशः फाउण्डेसनले पोलिटेक्निक इन्स्टिच्युटमा रुपान्तरण हुन सक्ने गरी अवधारणा विकसित भएको छ ।
व्यावसायिकता प्रवद्र्धन तथा साङ्गठनिक दिगोपना

रोजगारी र व्यवसाय सञ्चालनको लागि लामो अवधिका इलेक्ट्रिसियन, पलम्विङ, सिलाईजस्ता तालिमहरु अहिले पनि सञ्चालनरत छन् । सहभागीहरु चयन गर्दा देशका विभिन्न स्थानमा स्थानीय तहसँगको समेतको समन्वयमा छनोट गरिने रहेछ । आवासीय सुविधासहित निःशुल्क तालिम प्रदान गर्ने र रोजगारीका लागि पर्याप्त सीप र नयाँ सोच दिएर मात्र बजारमा पठाउने रणनीति अनुकरणीय छ । विद्युत, पलम्विङ्ग, काठको काम, वेल्डिङ्ग, व्यावसायिक सिलाईसम्बन्धी तालिमको व्यवस्था गरिएको छ ।

कोभिडको महामारीपछि उल्लेखित पाँचवटै विषयमा घुम्ति तालिम समेत सञ्चालन भएका थिए । ओल्गापुरीमा उपलब्ध कृषियोग्य जमीनमा दिगो खालको खेतीपाती तथा पशुपालन सञ्चालनमा छन् । तरकारी र दूध विक्रीबाट आम्दानी पनि गरिएको छ । फाउण्डेसनको सहयोगमा सीप सिकेकाहरु अधिकांश व्यक्ति नेपालभित्रै विभिन्न व्यवसायमा संलग्न भएका छन् । हाम्रो जस्तो देशका लागि बजारमा बढी माग भएका सीपयुक्त जनशक्ति देशभित्र उपलब्ध गराउने र सीपयुक्त जनशक्तिको उपलब्धता सम्बन्धमा सुसूचित गर्नु पनि हो ।

असल कार्यसंस्कृति
ओल्गापुरीमा रहेको नेपाल युथ फाउण्डेसनमा कार्यरत पदाधिकारी तथा कर्मचारीहरुमा तुलनात्मकरुपमा स्थायित्व रहनुको कारणबारे जिज्ञासा राख्दा थाहा भयो कि यहाँ कार्यरत जनशक्तिले हरेक दिन र हरपल कसैको जीवनमा परिवर्तन ल्याइरहेको छु भन्ने अनुभूति गर्दछन् । मानवीयता र समर्पणभावका साथ मानिसलाई पहिलो प्राथमिकता दिएको यो संस्थामा कार्यरतहरुको रगतमा नै मानवीयता रहेको हुँदा मध्यमस्तरकै सुविधामा नै उनीहरु उत्प्रेरित छन् । वार्षिकरुपमा २० लाख अमेरिकी डलर बजेट रहेको यो संस्थाको वार्षिक बजेटमध्ये ८७ प्रतिशत स्रोत कार्यक्रमहरुमै खर्च हुने गर्दछ ।

केन्द्रीय र प्रादेशिक अस्पतालमा सञ्चालनमा आएका सामाजिक सेवा एकाइहरुले फाउण्डेसनको सहयोगमा काम गरिरहेका र भविष्यमा स्वनिर्भर भई असल कार्यसंस्कृतिका साथ सेवामा समर्पित हुने देखिन्छ । फाउण्डेसनको हालसम्मको कार्यसम्पादन र नतिजालाई नजिकबाट अवलोकन ग¥यो भने नेपालभित्रका गरिबी र असमानता कम गर्न नेपालीले नै मिलेर मेहनत गरेमा सम्भव हुने देखिन्छ । फाउण्डेसनजस्तै संस्थाहरु केही मात्र भए पनि मुलुकमा असरदार प्रभाव पर्ने प्रष्ट छ ।

मानवीय मूल्य मान्यता प्रवद्र्धनमा निरन्तर समर्पित संस्थाहरुको असल कार्यसम्पादनको मूल्याङ्कन गर्ने र त्यस्ता संस्थाहरुलाई काम गर्ने वातवरण तयार गर्न सहजीकरण गर्न सरकारी संरचनाभित्र नै सामाजिक विषय हेर्ने सङ्गठन आवश्यक पर्दछ । सरकारी प्रयत्न भएमा मात्र अन्य अभियानहरुले दिगोपना पाउँदछन् । तीस वर्षभन्दा वढी अवधिका लागि जीवन रुपान्तरणमा संलग्न नेपाल युथ फाउण्डेसनले नेपाली समाजमा देखाएको आशाको किरणलाई निरन्तरता दिन तथा उक्त संस्थाका राम्रो कार्यसंस्कृतिबाट सिकेर अन्य संस्थाहरुले समेत राम्रो नेतृत्व र राष्ट्रहितका लागि अनुकरणीय काम हरु गर्न सक्छन् । (लेखक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव हुनुहुन्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर