थानीमाईमा फूलको डोली भित्र्याउन बिहानैदेखि भक्तजनको भीड — OSNepal

थानीमाईमा फूलको डोली भित्र्याउन बिहानैदेखि भक्तजनको भीड

LC (KTM) October 31, 2023 0

दमौली, १४ कात्तिक ः तनहुँको प्रसिद्ध थानीमाई मन्दिरमा फूलको डोली भित्र्याउन आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । भानु नगरपालिका–७ बसन्तपुरमा अवस्थित सो मन्दिरमा फूलको डोली लिएर आउनेभक्तजनको भीड बिहानैदेखि बढेको हो ।

मन्दिरमा बिहानैदेखि हजाराँैकौ सङ्ख्यामा भक्तजनको आगमन भइरहेको स्थानीयवासी मनोजकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रत्येक वर्ष कात्तिक, मङ्सिर, माघ र फागुन महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् । “बिहानैदेखि भक्तजनको आगमन भइरहेको छ, भीड बढ्दो अवस्थामा छ, आउने क्रम जारी छ,” उहाँले भन्नुभयो ।
मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापामगरले कात्तिक महिनाको मङ्गलबार फूलको डोली भित्र्याउन देशका विभिन्न ठाउँबाट भक्तजन आउने जानकारी दिनुभयो । यहाँ तनहुँका अलवा चितवन, गोरखा, लमजुङ, नवलपुर, काठमाडौँलगायत जिल्लाबाट भक्तजन यहाँ आउने गरेको उहाँले बताउनुभयो ।

अध्यक्ष थापामगरले भन्नुभयो,“थानीमाईमा पूजाअर्चना गरे मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ, यसै कारण यो ठाउँ धार्मिक आस्थाको केन्द्रको रुपमा विकास भइरहेको छ ।” पृथ्वीराजमार्गअन्तर्गत तनहुँको डुम्रे बजारदेखि भानुको भन्सार हुँदै बसन्तपुर पुगिन्छ । भक्तजन फूलको डोली र पञ्चैबाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो भाकल पूरा भएको भन्दै पूजाअर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले बसन्तपुर क्षेत्र गुञ्जिने गरेको छ ।

उक्त मन्दिर धार्मिक आस्थाको केन्द्रविन्दुको रुपमा विकसित हुन थालेको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ यहाँ विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।
सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा कात्तिकसँगै मङ्सिर र माघ महिनामा समेत भक्तजनको भीड लाग्ने गरेको छ । मन्दिरमा फूलको डोली चढाउन छिमेकी जिल्ला गोरखा, लमजुङ, कास्कीका अलवा चितवन, नवलपरासी र काठमाडौँबाट भक्तजन आउने गरेका छन् । मन्दिरमा साउन महिना, एकादशी र औंँशी बाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।

उक्त मन्दिरसम्म जाने सडक कालोपत्र गर्न लागिएको छ । बाइसजागर थानीकाथान हुँदै चन्द्रावती टुहरेपसल सडक कालोपत्रका लागि रु आठ करोड ८३ लाखको बोलपत्र आह्वान भएको वडाध्यक्ष मीन गुरुङले जानकारी दिनुभयो ।

पछिल्ला वर्षहरूमा थानीमाई जाने नयाँ सडकसमेत खुलेका छन् । सडक खुलेपछि भक्तजनको सङ्ख्या बढ्न थालेको छ ।समुन्द्र सतहबाट एक हजार दुई सय मिटर उचाईमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत हिमशृङ्खलाका दृश्य देख्न सकिन्छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु छ लाख गरी रु २० लाखको लागतमा मन्दिर पुनःनिर्माण गरिएको थियो । विसं १८२५ देखि यस मन्दिरमा पूजाअर्चना सुरु भएको स्थानीयवासी बताउँछन् । विसं १८२५ मा मन्दिर भएको ठाउँमा भोटीनी आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्र्तध्यान भएको किंबदन्ती रहेको र सोही समयदेखि नै उक्त स्थानमा पूजाअर्चना सुरु भएको स्थानीयवासीको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर