मनकामना केवलमा एक करोड ८० लाखभन्दा बढीले गरे यात्रा — OSNepal

मनकामना केवलमा एक करोड ८० लाखभन्दा बढीले गरे यात्रा

LC (KTM) November 25, 2023 0

चितवन, मंसिर -मनकामना दर्शन प्रालिले २५ वर्षमा एक करोड ८० लाख ९३ हजार दुई ५५ यात्रुले केवलकारबाट सेवा लिएको जनाएको छ । कम्पनी विसं २०५५ मङ्सिर ८ गतेदेखि सञ्चालनमा आएको हो । कुल तीन दशमलव ०२ किलोमिटर लम्बाइको केबलकारमा ३४ वटा यात्रुवाहक र तीनवटा कार्गो ३७ गोन्डुला छन् । केबलकारको एक घण्टामा अधिकतम छ सय ६० जनालाई सेवा दिनसक्ने क्षमता छ ।

कम्पनीले सामाजिक उत्तरदायित्वमा पनि उत्तिकै ध्यान दिएको छ । यस क्षेत्र आसपासमा शिक्षा, स्वास्थ्य र विपन्न वर्गलाई सहयोग गर्दै आएको सञ्चालक राजेशबाबु श्रेष्ठको भनाइ छ । कम्पनीले टिकट आम्दानीको एक प्रतिशत गोरखाको सहिद लखन गाउँपालिका र एक प्रतिशत चितवनको इच्छाकामना गाउँपालिकालाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा दैवी प्रकोपका लागि सहयोग गरिरहेको छ । कम्पनी पर्यटन क्षेत्रतर्फ आर्थिक वर्ष २०७८र७९ मा सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै सरकारबाट सम्मानित भएको छ । हाल कम्पनीमा एक सय २० जनाले रोजगारी पाएका छन् ।

कम्पनीका अनुसार सुरुआती वर्षमा दुईदेखि तीन लाख यात्रुले सेवा लिने गरेको भए पनि हाल वार्षिक ११ लाखभन्दा बढीले केबलकारबाट सेवा लिइरहेका छन् । साथै यस वर्ष १२ लाख ५० हजारभन्दा बढी यात्रुले सेवा लिने अपेक्षा गरिएको सञ्चालक श्रेष्ठले बताउनुभयो ।

यस परियोजनामा तत्कालीन समयमा रु ६५ करोड लगानी भएको थियो । नेपाल बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक र तत्कालीन नेपाल बङ्गलादेश बैंकले लगानी गरेका थिए । “सुरुआती दिनमा अपेक्षाअनुरुप यात्रु नआए पनि त्यसपछिका वर्षमा भने यात्रुको सङ्ख्या बढ्यो”, सञ्चालक श्रेष्ठले भन्नुभयो, “पाँच वर्षमा ऋण चुक्ता गर्ने भनिए पनि सात वर्षमा मात्रै पूरा भयो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर