बेलारुसका राष्ट्रपतिद्वारा चीनसँगको ‘विश्वसनीय मित्रता’ को प्रशंसा — OSNepal

बेलारुसका राष्ट्रपतिद्वारा चीनसँगको ‘विश्वसनीय मित्रता’ को प्रशंसा

LC (KTM) December 04, 2023 0

बेइजिङ, १८ मङ्सिर । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले सोमबार चीनसँग उनको देशको ‘विश्वसनीय’ मित्रताको प्रशंसा गरेका छन् । यो वर्ष आफ्नो बेइजिङको दोस्रो भ्रमणका क्रममा आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँगको कुराकानीमा उनले सो टिप्पणी गरेका हुन् ।

रुसको कट्टर सहयोगी लुकासेन्को कम्तीमा दुई दिनसम्मको चीनको भ्रमणका क्रममा आइतबार चीन पुगेका हुन् । उनी र चिनियाँ राष्ट्रपति सीले ‘व्यापार, अर्थतन्त्र, लगानी र अन्तर्राष्ट्रिय लगानी’ लगायतका विषयमा छलफल गर्ने उनको कार्यालयले आइतबार घोषणा गरेको छ ।

लुकासेन्को पछिल्लो टक फेब्रुअरीमा चीन आएका थिए । उक्त भ्रमणले युक्रेनमाथि मस्कोको आक्रमणलाई ध्यानमा राखेको थियो । बेलारुसी राष्ट्रपति कार्यालयको विज्ञप्तिअनुसार राष्ट्रपति लुकासेन्कोले सोमबार सीसँग भने, “बेलारुस चीनका लागि एउटा विश्वसनीय साझेदार हो, थियो र हुनेछ ।”

“हामीले धेरै पहिला नै निर्णय गरेका थियौँ कि हामी सहयोग गर्नेछौँ र चीनसँग मित्रता गाँस्नेछौँ”, उनले भने, “यो मित्रता ३० वर्षभन्दा पनि पुरानो हो र यो मार्गबाट कहिले पनि पछि हटेको छैन ।”

अमेरिका र अन्य पश्चिमी मुलुकहरूको दबाब भए पनि बेइजिङले सार्वजनिकरूपमा युक्रेनमाथि रुसी हमलाको निन्दा गरेको छैन । बेलारुस राजनीतिक र वित्तीय सहयोगका लागि रुसमाथि अत्यन्त धेरै निर्भर छ र सन् २०२२ फेब्रुअरीमा युक्रेनविरुद्ध मस्कोको आक्रमणका लागि आक्रमणस्थलका रूपमा बेलारुसलाई प्रयोग गरिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर