जेन दीपिका ग्यारेट नेपाल आइपुगिन् — OSNepal

जेन दीपिका ग्यारेट नेपाल आइपुगिन्

LC (KTM) December 14, 2023 0

काठमाडौं । अमेरिकाको एल साल्भाडोरमा हालै सम्पन्न ‘मिस युनिभर्स २०२३’ मा नेपालबाट प्रतिनिधित्व गर्दै टप २० मा पर्न सफल जेन दीपिका ग्यारेट मङ्गलबार राती नेपाल आईपुगेकी छिन । दीपिकालाई त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा सचेतनाका निर्देशक सरोज ओझाले राष्ट्रिय झण्डा ओडाएर, बुकि, माला र खादासहित उनको स्वागत गरे ।

उनलाई स्वागत गर्न दीपिकाका परिवारका सदस्य, शुभेच्छुक विमानस्थल पुगेका थिए । निर्देशक ओझाले दीपिकालाई स्वागत गर्दै उनले नेपालको नाम विश्व सामु चर्चामा ल्याउन सफल भएकामा धन्यवाद दिएका थिए ।

दीपिकाले नेपालको प्रतिनिधित्व गर्दै ‘मिस युनिभर्स’ जस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुन पाउँदा आफूलाई गर्व महशुस भएको बताईन । उनले प्लस साइज मोडलको रूपमा अन्तर्राष्ट्रिय मिडियामा आफूले पाएको चर्चा र नेपाली मिडियाहरुले दिएको स्थानको सम्मान गर्न चाहेको जनाइन् ।

‘मिस युनिभर्स २०२३’ मा सहभागितासँगै दीपिकाले ‘प्लस साइज मोडल’को रूपमा अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुली रहेकी छिन् । २३ वर्षिया दिपिकाले मानसिक स्वास्थ्य, सकारात्मक सोच र हर्मोनल स्वास्थ्यको पक्षमा आफ्ना धारणा राख्दै आएकी छन् । दीपिकाले ‘एसियन पेण्टस् मिस युनिभर्स नेपाल २०२३’ को विजेता बन्दै ‘मिस युनिभर्स २०२३’ मा सहभागिता जनाएकी थिईन ।

‘मिस युनिभर्स २०२३’ को उपाधि निकारागुआकी शेनिस पालासियोसले जितेकी थिइन् । प्रतियोगितामा थाइल्याण्डकी एन्टोनिया पोर्सिल्ड ‘फस्ट रनरअप’ र अष्ट्रेलियाकी मोराया विल्सन ‘सेकेन्ड रनरअप’ भएका थिए ।

उनलाई हौसला प्रदान गर्न ‘मिस युनिभर्स नेपाल’की राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठ एल साल्भाडोर पुगेकी थिईन् । ‘यस वर्ष शीर्ष २० अर्थात सेमिफाइनलसम्म पुग्नुलाई महत्वपूर्ण उपलब्धीका रुपमा लिएका छौँ र हाम्रो लक्ष्य आगामी बर्षहरुमा नेपालका लागि मिस युनिभर्स जित्नु रहेको छ’ नग्माले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर