कविशिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्ती अर्घौं अर्चलेमा मनाइयो — OSNepal

कविशिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्ती अर्घौं अर्चलेमा मनाइयो

LC (KTM) December 31, 2023 0

लेखनाथ, १५ पुस : कविशिरोमणि लेखनाथ पौड्यालको एक सय ४०औँ जन्मजयन्ती विशेष कार्यक्रम गरी कविवरको जन्मस्थल पोखरा–२७ स्थित अर्घौं अर्चलेमा मनाइएको छ । कविवरको जन्म दिनको सम्झनामा हरेक वर्ष पुस १५ मा उहाँको जन्मस्थल अर्घौं अर्चलेमा विविध कार्यक्रम हुँदै आएका छन् । विसं १९४१ को पुस १५ मा कास्कीको अर्घौं अर्चलेमा जन्मिनुभएका कविशिरोमणिको जन्मजयन्तीका अवसरमा आज उहाँको जन्मथलोमा मूल कार्यक्रम आयोजना गरी विभिन्न पुरस्कार प्रदान गरिएको थियो ।

कविशिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, पोखरा प्रज्ञा प्रतिष्ठान, लेखनाथ साहित्य प्रतिष्ठान, लेखनाथ पत्रकार मञ्चलगायत संस्थाद्वारा आयोजित कविवरको जन्मजयन्ती कार्यक्रममा साहित्य, शिक्षा, सांस्कृतिक तथा पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वलाई सम्मान गर्नाका साथै पुरस्कृत गरिएको छ ।

कार्यक्रमममा लेखनाथ साहित्य पुरस्कारद्वारा पोखराका साहित्यकार एक सय तीन वर्षीय गोपाल वैद्यलाई सम्मान गरिएको छभने उक्त पुरस्कारको राशि रु ५० हजार र सम्मानपत्र रहेको छ ।यसैगरी, कुन्तीदेवी साहित्य पुरस्कारद्वारा साहित्यकार भागिरथी श्रेष्ठ र लेखनाथ सांस्कृतिक पुरस्कारद्वारा लोक सांस्कृतिक समूह पोखरा–२६ लेखनाथलाई सम्मान गरिएको छ । उक्त पुरस्कार रु २५ हजार र सम्मानपत्र छन् ।

त्यसैगरी, पत्रकारिता क्षेत्रमा योगदान पु¥याएको भन्दै पत्रकार दीपक परियारलाई लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारद्वारा सम्मान गरियो । उक्त पुरस्कारको राशि रु ११ हजार एक सय ११ र सम्मानपत्र रहेको छ । सम्मानित व्यक्तित्वहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुरस्कार अर्पण गर्नुभयो । सो अवसरमा नगर प्रमुख आचार्यले कविशिरोमणि नेपाली भाषा र साहित्यका महान् सर्जक भएको बताउनुभयो । लेखनाथको जन्मस्थल अर्चलेलाई साहित्यिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको जानकारी उहाँले दिनुभयो ।

कविशिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समितिका कार्यवाहक अध्यक्ष गोपीनाथ पौड्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रमा लेखनाथका कवितावाचन समेत गरिएको थियो । कविशिरोमणिका ऋतुविचार, तरुण तपसी, गङ्गा गौरीसहितका महाकाव्य, लालित्य कविता सङ्ग्रह, नाटक तथा प्रश्नोत्तरसहितका खण्डकाव्य र अन्य फुटकर कविताहरु प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर