गोलबजार नगरपालिकाले किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको कृषि विद्युत् महसुल बुझायो — OSNepal

गोलबजार नगरपालिकाले किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको कृषि विद्युत् महसुल बुझायो

LC (KTM) January 04, 2024 0

सिरहा, १९ पुस : गोलबजार नगरपालिकाले नगरभित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको कृषि विद्युत् महसुल बुझाएको छ । नगरपालिकाले कृषि विद्युत् महसुल अनुदान कार्यक्रमअन्तर्गत करिब रु आठ लाख महसुल विद्युत् प्राधिकरणलाई बुझाएको हो ।

आज एक समारोहकाबीच नगर प्रमुख श्यामकुमार श्रेष्ठले विद्युत् प्राधिकरण मिर्चैया वितरण केन्द्रका प्रमुख मनोजकुमार शर्मालाई रु सात लाख ९७ हजारको चेक हस्तान्तरण गर्नुभयो । भुक्तानी भएको रकम साउनदेखि अहिलेसम्मको भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

वडा नं १ लहान वितरण केन्द्रले हेर्ने भएकाले त्यसका लागि रु ५० हजार निकासा भएको कृषि शाखाका वीरेन्द्र यादवले जानकारी दिनुभयो ।

पालिकाले गत असारमा सम्पन्न नगरसभाबाट कार्यविधि पास गरी प्रमाणीकरण गरेको भए पनि लेखा तथा प्रशासकीय प्रमुख नियमित नहुँदा भुक्तानीमा ढिलाइ भएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । “नगरपालिकाले कार्यविधि पास गरिसकेको भए पनि लेखाका कर्मचारी नहुँदा धेरै काम नियमित रुपमा हुन सकिरहेको थिएन । कर्मचारीको अभावका कारण ढिलाइ भएको हो”, उहाँले भन्नुभयो ।

मिर्चैया वितरण केन्द्रका प्रमुख शर्माले पालिकाको सानो प्रयासबाट किसानले प्रत्यक्ष लाभ पाएका बताउनुभयो । “यसवर्ष वर्षाको समयमा पनि खरेडी परेकाले किसानले भूमिगत सिँचाइको सहयोगमा खेतीपाती गरेका थिए । यस्तो बेलामा नगरले विद्युत् महसुल तिरेर किसानका लागि घाउमा मलहमपट्टी लगाएजस्तो भएको छ”, उहाँले भन्नुभयो ।

प्रमुख शर्माका अनुसार नगरक्षेत्रमा तीन हजारको हाराहारीमा कृषि मिटर जडान गरिएका छन् । नगर प्रमुख श्रेष्ठले आगामी दिनमा बाँकी किसानलाई पनि यस योजनामा समेट्ने योजना रहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर