फाइनल भिडन्तमा नेपाल पपुवा न्यूगिनीसँग पराजित — OSNepal

फाइनल भिडन्तमा नेपाल पपुवा न्यूगिनीसँग पराजित

LC (KTM) March 13, 2024 0

काठमाडौँ, ३० फागुन : त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको फाइनल खेलमा नेपाल पपुवा न्यूगिनीसँग पराजित भएको छ । हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा भएको खेलमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित भएको हो ।

जितसँगै पपुवा न्यूगिनीले प्रतियोगिताको उपाधि उचाल्दा नेपाल भने दोस्रो स्थानमा रह्यो । त्यस्तै हङ्कङ तेस्रो भयोे । नेपालले हिजो भएको खेलमा पपुवा न्यूगिनीलाई ८५ रनले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको थियो । त्यसअघि नेपाल र हङकङबीच भएको खेल वर्षाका कारण रद्द भएको थियो । हिजै भएको अर्को खेलमा पपुवा न्यूगिनीले हङकङलाई १० विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको थियो ।

आजको खेलमा पपुवा न्यूगिनीले जितका लागि दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटियो । नेपालका लागि कुनै पनि ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । सन्दिप जोराले सर्वाधिक १७ रनको योगदान दिए । उनले १३ बलमा तीन चौका प्रहार गर्दै १७ रन बनाएका हुन् ।

आरिफ शेखले १५ रन जोड्दा कप्तान रोहितकुमार पौडेलले १२ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । गुल्सन झा र लोकेश बमले समान ६÷६ रन जोडे भने कुशल भुर्तेलले ५ रन बनाए । त्यसैगरी विनोद भण्डारीले ४ रन जोड्दा करण केसी तीन रनमा आउट भए ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा पपुवा न्यूगिनीका कबु मोरे, सेसे बाउ, चाद सोपर र सेमो कमेले समान दुई/दुई विकेट लिए भने एली नाओले एक विकेट झारे । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ७१ रनको योगफल बनाएको थियो ।

पपुवा न्यूगिनीका लागि टोनी उराले अर्धशतक प्रहार गरे । उनले ३७ बलमा पाँच चौका र चार छक्काको मद्दतमा ६१ रन बनाएका हुन । त्यसैगरी एली नाओले अविजित ३० रन बनाए । त्यसैगरी हिरि हिरिले १५, हिला भारेले १८, चाद सोपरले १३ र किप्लिङ डोरिगाले १४ रन बनाएका थिए । नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले समान तीन/तीन विकेट लिए भने करण केसी र गुल्सन झाले समान एक/एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर