सर्लाहीका पाँच पालिकाका विद्यालयले अझै पाठ्यपुस्तक वितरण गरेनन् — OSNepal

सर्लाहीका पाँच पालिकाका विद्यालयले अझै पाठ्यपुस्तक वितरण गरेनन्

LC (KTM) April 27, 2024 0

बरहथवा (सर्लाही), १५ वैशाखः सर्लाहीका पाँच पालिकाले रकम निकासा नगर्दा धेरै विद्यालयले अझै पाठ्यपुस्तक वितरण गर्नसकेका छैनन् । जिल्लाका कविलासी, हरिपुर्वा र गोडैता नगरपालिका तथा धन्कौल र चन्द्रनगर गाउँपालिकाले पाठ्यपुस्तकका लागि रकम निकासा नदिँदा शैक्षिकशत्र सुरूभइसक्दा पनि पाठ्यपुस्तक वितरण गर्न नसकिएको स्थानीय विद्यालयले जनाएका छन् ।

पालिकाले आन्तिरिक समस्या देखाउँदै पाठ्यपुस्तक खरिदका लागि निकासा नगरेपछि पाठ्यपुस्तक वितरण नहुँदा पठनपाठन नै प्रभावित भएको हरिपुर्वा–२ स्थित प्राथमिक विद्यालयका शिक्षक दिनेश रायको भनाइ छ ।

हरिपुर्वा नगरपालिका शिक्षा शाखा प्रमुख जनक काफ्लेले भने प्रमुख प्रशासकीय अधिकृत नभएकाले पुस्तक खरिदका लागि निकासा दिन ढिलाइ भएको बताउनुभयो । प्रशासकीय अधिकृत आउनेबित्तिकै निकासा दिने गरी उधारोमा भए पनि पुस्तिक वितरण गर्न आग्रह गरिएको र धेरै विद्यालयले सोहीअनुसार व्यवस्था गरेका समेत उहाँले बताउनुभयो ।

त्यस्तै, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले पनि पछि भुक्तानी गर्ने गरी विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन आग्रह गरिएको बताउनुभयो ।

चन्द्रनगर गाउँपालिका–३ स्थित श्रीराम जनता निम्न मावि बडकुर्वाका प्रधानाध्यापक सरोज सिंहले भने पालिकाहरूले समयमै पुस्तकको भुक्तानी नगर्ने भन्दै स्थानीय पुस्तक वितरकले उधारोमा कारोबार गर्न नमानेका बताउनुभयो । आफ्नो विद्यालयमा जस्तै निकासा रोकिएर समयमै पाठ्यपुस्तक नपाउँदा जिल्लाका धेरै विद्यालयलाई समस्या भएको उहाँको भनाइ छ ।

सर्लाहीमा चार सय ४२ सामुदायिक विद्यालयमा एक लाख १९ हजार सात सय सात विद्यार्थी भर्ना रहेका शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक सुनिलकुमार कुशवाहले जानकारी दिनुभयो । तिमध्ये उल्लेखित पाँच पालिका क्षेत्रका विद्यालयमा पाठ्यपुस्तक वितरणमा समस्या छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर