कोशी प्रदेश ट्रफी क्रिकेटः मधेस र बागमती सेमिफाइनलमा प्रवेश — OSNepal

कोशी प्रदेश ट्रफी क्रिकेटः मधेस र बागमती सेमिफाइनलमा प्रवेश

LC (KTM) March 14, 2024 0

बेलबारी (मोरङ), १ चैत : कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणको आजको पहिलो खेलमा मधेस प्रदेशले एपिएफ र बागमती प्रदेशले नेपाल पुलिसलाई पराजित गर्दै सेमिफाइनलको समिकरण पूरा गरेका छन् ।

मोरङ क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी प्रतियोगितामा मधेस र बागमती प्रदेश विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् । खेल अगावै समूह ‘ए’ बाट आर्मी ८ अङ्कका साथ शीर्ष स्थानमा रहदैँ समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

आर्मीसँगै समूह ‘ए’ बाट कर्णाली समूह उपविजेता भएको छ । त्यस्तै समूह ‘बि’ बाट लुम्बिनीले ४ मा ३ खेल जित्दै ६ अङ्कका साथ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने सुदूरपश्चिमले पनि ४ मा ३ खेल जित्दै ६ अङ्कका साथ उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । लुम्बिनीको नेट रन रेटको आधारमा समूह विजेता बनेको हो ।

विराटनगरको बैजनाथपुर क्रिकेट रङ्गशालामा भएको पहिलो खेलमा मधेस प्रदेशले एपिएफलाई २१ ले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ १ सय ४३ रनको योगफल बनाएको थियो । मधेसका लागि प्लेयर अफ द म्याच विशाल सुस्लिङले ३३ बलमा ४ छक्का र ४ चौका प्रहार गरी अविजित ५४ रन बनाउँदा पवन सराफले २५ रन र अविजित तिवारीले १९ रनको योगदान दिए । एपिएफका कप्तान भुवन कार्की र पुरन विकले समान ३÷३ विकेट लिए ।

जवाफमा १ सय ४४ रनको लक्ष्य पछ्याएको एपिएफले पूरै ओभर खैल्दैँ ८ विकेटको क्षतिमा १ सय २२ रनमा सीमित भयो । एपिएफका सुमित महर्जनले २९ बलमा १ छक्का र ९ चौका प्रहार गरी ५२ रन बनाउँदा कप्तान भुवन कार्कीले अविजित १२ रन र आयुमान बमले पनि १२ रन बनाए । मधेसका राजेश यादवले ३ विके लिँदा अरनिको यादवले २ विकेट लिए ।

दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिसलाई बागमती प्रदेशले ३३ रनले पराजित गरेको छ । हारपछि पुलिस प्रतियोगिताबाट बाहिरिएको छ । पुलिसले १२ दशमलव ५ बलमा बागमतीलाई पराजित गरेको भए नेट रन रेटमा समूह उपविजेता हुँदै सेमिफाइनको यात्रा तय गर्ने थियो ।

टस हारेर ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाइ १ सय ७३ रन बनायो । बागमतीका लागि प्लेयर अफ द म्याच इसान पाण्डेले ५० बलमा २ छक्का र ७ चौका प्रहार गरी अविजित ७४ रन बनाउँदा रवीन जोशीले २७ रन, शुभ कन्साकरले २६ रनको योगदान दिए । पुलिसका अविशेक कार्की र दीपक सेरलाले समान २÷२ विकेट लिए ।

जवाफमा १ सय ७४ रनको लक्ष्य पाएको पुलिसले १२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४० रनमा सिमित भयो । पुलिसका रोहन विकले २४ बलमा १ छक्का र ७ चौका प्रहार गरी ४३ रन बनाए भने शङ्कर रानाले २७ रन बनाउँदा सुनिल दौल्यारले अविजित २६ बनाए । बागमतीका कृजन गुरुङले ४ विकेट लिँदा तिलक भण्डारी र इसान पाण्डेले समान २–२ विकेट लिए ।

भोलि पहिलो सेमिफाइनल खेल आर्मी र सुदूरपश्चिम तथा दोस्रो लुम्बिनी र कर्णाली प्रदेशबीच हुने मोरङ क्रिकेट सङ्घका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर