कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाद्वारा आयोडिनयुक्त नुन वितरण — OSNepal

कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाद्वारा आयोडिनयुक्त नुन वितरण

LC (KTM) April 11, 2024 0

मान्म (कालीकोट), २९ चैतः कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाले गाउँमै आयोडिनयुक्त नुन वितरण सुरु गरेको छ । आयोडिनयुक्त नुन लिन सदरमुकाम जानुपर्ने बाध्यता हटाउन गाउँपालिकाले नुन खरिद गरी नौवटै वडामार्फत नुन वितरण सुरु गरेको हो ।

सान्नी त्रिवेणीले नौवटै वडाका नागरिकका लागि पहिलो चरणमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग एक सय ७५ क्विन्टल नुन खरिद गरेर वितरण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले बताउनुभयो । “हामीले प्रत्येक वडामा नुन ढुवानी भइसकेको छ”, उहाँले भन्नुभयो, “एक किलो नुन लिनका लागि सदरमुकाम मान्म धाउनुपर्ने बाध्यता हटेको छ ।”

आयोडिनयुक्त नुन गाउँमै उपलब्ध गराउने उद्देश्यले प्रत्येक वडामा नुन ढुवानी गरिएको र तत्काल नै वितरण थालिने गाउँपालिका अध्यक्ष केसीले बताउनुभयो । “वडाबाटै नुन वितरणको व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो, “सबै वडामा नुन वितरणको काम भइरहेको छ ।”

सान्नी त्रिवेणी गाउँपालिका वडा नं २ ले वडाबाट नुन वितरण थालेको वडाध्यक्ष वसन्त बुढाले जानकारी दिनुभयो । “एक घरधुरीलाई छ किलोका दरले नुन वितरण थालिएको छ, एक केजी नुन गाउँमा रु नौका दरले दिने गरेका छौँ”, उहाँले भन्नुभयो ।

पहिलो चरणको नुन वितरण गरेर सकिएपछि दोस्रो चरणमा गाउँपालिकाले नुन खरिद गरेर वडामार्फत नुन वितरणको काम निरन्तरता दिने गाउँपालिका अध्यक्ष केसीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर