निगमको जहाज इजरायलमा मर्मत गरेर काठमाडौं ल्याइयो — OSNepal

निगमको जहाज इजरायलमा मर्मत गरेर काठमाडौं ल्याइयो

LC (KTM) April 28, 2024 0
काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज इजरायलमा मर्मत गराएर काठमाडौँ ल्याइएको छ । इजरायलमा मर्मतसम्भार सकेर ल्याइएको जहाज शनिबार साँझ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले राससलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “उक्त जहाजको एउटा इञ्जिनमा प्राविधिक समस्या आएपछि इजरायलस्थित नियमानुसार छनोट भएको मर्मत र मर्मत सङ्गठन (एमआरओ) मा मर्मत गराइएको थियो । मर्मतपश्चात् जहाज शनिबार साँझ काठमाडौँ आइपुगेको छ ।”
“मर्मतका क्रममा आवश्यक प्राविधिक जाँच पड्ताल गर्दा अन्य प्राविधिक समस्याहरुका अतिरिक्त इञ्जिनभित्रको ३१ वटा ब्लेड पुरै फेर्नुपर्ने देखिएको र एमआरओ तथा निगमका सम्बन्धित इञ्जिनियरहरु एवं प्राविधिकहरुको प्रतिवेदनअनुसार बजारमा सोसँग सम्बन्धित पार्टपुर्जाहरुको अभाव भएकाले मर्मतसम्भार कार्यमा केही ढिलाइ हुन पुगेको हो”, प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सो विज्ञप्तिमा भनिएको छ, “उक्त कार्यमा इजरायलस्थित नेपाली राजदूतावासबाट भएको सहयोग र समन्वयका लागि निगमले आभार प्रकट गर्दछ । जहाजको इञ्जिन मर्मतमा ढिलाइ हुन गएको विषयलाई गम्भीरतापूर्वक अध्ययन विश्लेषण गरी सम्झौताअनुसार आवश्यक प्रक्रिया अगाडि बढाइनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर