जोखिम न्यूनीकरणका लागि साझा प्रयास आवश्यक : मन्त्री बस्नेत — OSNepal

जोखिम न्यूनीकरणका लागि साझा प्रयास आवश्यक : मन्त्री बस्नेत

LC (KTM) April 30, 2024 0

काठमाडौँ, १८ वैशाख-ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम न्यूनीकरणका लागि साझा प्रयासको खाँचो आँैल्याउनु भएको छ । जलस्रोत तथा सिँचाइ विभागले आज यहाँ आयोजना गरेको ‘जलवायु र पानीजन्य प्रकोप नियन्त्रण’ विषयक कार्यशालालाई सम्बोधन गर्दै उहाँले नेपालले नगरेको गल्तीको सजाय पाइरहेकाले त्यसको उचित क्षतिपूर्ति पाउनै पर्ने बताउनुभयो ।

उहाँले मुस्ताङमा बेमौसमा गएको बाढी, मेलम्ची नदी र आपपासका क्षेत्रमा देखिएको विपद्जन्य प्रकोप र गत असारमा काबेली नदी करिडोरमा देखिएको विपत्तिको पछाडि जलवायु परिवर्तनको असर नै रहेकाले त्यसबाट जोगिनका लागि उपयुक्त विधिको खोजी गर्नुपर्ने उल्लेख गर्नुभयो ।

नेपाललाई जलवायु कोषलगायतबाट राहत तथा अनुदान उपलब्ध गराइनुपर्नेमा जोड दिँदै उहाँले अन्तर्राष्ट्रिय निकायले यसमा विशेष ध्यान दिनुपर्ने स्पष्ट पार्नुभयो । मन्त्री बस्नेतले जलवा परिवर्तन र पानीजन्य प्रकोपबाट जोगिनका लागि पूर्वतयारी एवं प्रतिरोधी क्षमताको विकास गर्नैपर्ने र त्यसमा सम्बद्ध निकायको साझा प्रयत्न जरुरी रहेको बताउनुभयो ।

सरकारले त्यसका लागि आवश्यक तयारीको काम गरिरहेको सन्दर्भमा यस्ता कार्यक्रमबाट प्राप्त हुने सुझाव र निष्कर्षले आगामी दिनमा नीति निर्माणका लागि सहजता हुने उहाँको कथन छ । विपत्तिबाट हुने क्षति न्यूनीकरणका लागि कानुनी, संरचनागत एवं पूर्वतयारीको कामलाई सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिँदै मन्त्री बस्नेतले तिनै तहका सरकार, सरोकार भएका निकाय र अन्तर्राष्ट्रिय समुदायको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सरिता दुवाडी, जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्मा, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जिव बराललगायतले विपद्, पानीजन्य प्रकोपविरुद्ध लड्न साझा प्रयासको आवश्यकता औँल्याउनुभयो । उक्त कार्यशाला बुधबारसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर