लोकतान्त्रिक प्रणालीको सुदृढीकरणबाट मुलुकमा समृद्धि हासिल हुन्छ – पूर्वप्रधानमन्त्री डा भट्टराई — OSNepal

लोकतान्त्रिक प्रणालीको सुदृढीकरणबाट मुलुकमा समृद्धि हासिल हुन्छ – पूर्वप्रधानमन्त्री डा भट्टराई

LC (KTM) April 30, 2024 0

मोरङ, १८ वैशाख : नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले लोकतान्त्रिक प्रणालीको सुदृढीकरणबाट मुलुकमा समृद्धि हासिल हुने बताउनुभएको छ । नेपाल समाजवादी पार्टी केन्द्रीय महाधिवेशन आयोजक समितिद्वारा आज विराटनगरमा आयोजित नागरिक संवाद तथा चियापान कार्यक्रम–२०८१ मा उहाँले निर्वाचित जनप्रतिधिनिलाई जनताले प्रत्यक्ष निगरानी, राजनीतिक स्थिरता, दलको नेतृत्व राम्रो भएमा सङ्घीय गणतन्त्र सृदृढ हुनुका साथै जनता एवं मुलुकमा समृद्धि कायम हुने धारणा राख्नुभयो ।

पूर्वप्रधानमन्त्री भट्टराईले विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न संविधानमा रहेका केही कमीकमजोरीलाई सहमतिको आधारमा संशोधन गरी पूर्णता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले प्राविधिक शिक्षालाई प्राथमिकता राख्नुपर्छ भन्दै यसबाट मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन हुनका साथै विदेशी मुद्राको आर्जन गर्न सकिने विचार राख्नुभयो ।

अध्यक्ष भट्टराईले वर्तमान अवस्थामा युवायुवतीको वैदेशिक अध्ययन र कामका लागि पलायन हुने मोह गम्भीर विषय हो भन्दै उनीहरुको देश र समाजप्रतिको अविश्वासलाई विश्वासमा परिणत गराउन राजनीतिक दल, नागरिक समाजलगायत हामी सबै लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पूर्वप्रधानमन्त्री भट्टराईले राष्ट्रिय सहमतिका आधारमा छिमेक मित्रराष्ट्र भारतसँग कृषि, विद्युत्लगायतका अन्य क्षेत्रका समस्या समाधान गर्न गम्भीररुपमा छलफल गरी मुलुकको चुलिँदै गएको व्यापार घाटा कम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मुलुकमा आर्थिक चलायमान गर्न कृषिमा आश्रित जनसङ्ख्यालाई सेवा क्षेत्रमा परिचालन गरेमा औद्योगिक उत्पादनको खपत वृद्धि हुुनुका साथै उद्योग स्थापनामा स्वदेशी तथा विदेशी लगानी आउने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री डा भट्टराईले बैंकिङ क्षेत्रले औद्योगिक एवं पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने जनाउँदै वित्तीय संस्था एवं बैंकबाट लिएको ऋण नतिर्न अफवाह फैलाउनेलाई ऐन, नियमअनुसार कारबाही गर्र्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा मनमोहन प्राविधिक विश्व विद्यालयका रजिष्ट्रार डा दिलनाथ फुयाँल, नेपाल उद्योग परिसङ्घका प्रदेश अध्यक्ष पवन शारडा, अधिकारकर्मी उत्तम ढुङ्गेल, शिक्षाकर्मी गोपाल गेलाल, समाजसेवी विजयहरि शर्मालगायतले विभिन्न जिज्ञासा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर