सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का — OSNepal

सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का

LC (KTM) May 06, 2024 0

सुर्खेत- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन निर्माण छिटो हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको कर्णाली प्रदेश अधिवेशनको सुर्खेतमा उद्घाटन गर्दै उहाँले कानुन नबन्दा सङ्घीयता कार्यान्वयनमा समस्या भएको छ भन्नुभयो । उहाँले भन्नुभयो,” प्रदेश र स्थानीय तहलाई प्रत्यायोजन गरिने अधिकार कानुन अभावमा कार्यान्वयन हुन सकेको छैन । सङ्घले आवश्यक कानुन बनाउन नसक्दा सङ्घीयतामाथि प्रश्न उठिरहेका छन् । सरकारले तत्काल सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित कानुन निर्माण गर्नुपर्छ ।”

उपसभापति खड्काले सङ्घीयता कार्यान्वयनमा देखिएका समस्यालाई संविधानमार्फत संशोधन गर्न फेरि कांग्रेसको नेतृत्व आवश्यक रहेको दाबी गर्नुभयो । “कांग्रेसको नेतृत्वमा ७० वर्षको सङ्घर्षपछि संविधान जारी भएको हो, संविधान जारी हुँदा तत्कालीन प्रधानमन्त्रीतथा पार्टी सभापति सुशील कोइरालाले छुटेका कुराहरु संविधान संशोधनको प्रक्रियामार्फत सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो”, उहाँले भन्नुभयो, “सङ्घीयता कार्यान्वयनमा आएको यो आठ वर्षमा भोगेका अप्ठ्यारालाई संशोधनमार्फत सम्बोधन गर्नुपर्छ ।”

उपसभापति खड्काले भ्रातृ संस्था बलियो भए पार्टी बलियो हुने बताउनुभयो । उहाँले आदिवासी जनजाति समुदाय विशेष संस्कृति र सभ्यता बोकेको समुदाय भएकाले यस संस्थाको महत्व रहेको धारणा राख्नुभयो । उहाँले आदिवासी जनजाति समुदायको महत्व परापूर्वकालदेखि भएको जनाउँदै लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घले पार्टीलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
विचार समूहमा जोडिएका सम्पूर्ण सदस्यलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिँदै उहाँले वडादेखि प्रदेशसम्मको सङ्गठनलाई बलियो बनाई अभियान सफल बनाउन निर्देशन दिनुभयो । उपसभापति खड्काले अहङ्कार, रिस र घमण्ड त्याग्न सके मात्रै जनता र कार्यकर्ताको मन जित्न सकिने बताउनुभएको उहाँको सचिवालयले जनाएको छ । कांग्रेसले विगतदेखि नै आर्थिक, सामाजिक र राजनीतिक जस्ता युगान्तकारी परिवर्तन गरेको उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर