कोरोनाका कारण राजधानीका जय नेपाल, कुमारी, र गोपीकृष्णजस्ता हल पनि बन्द भए — OSNepal

कोरोनाका कारण राजधानीका जय नेपाल, कुमारी, र गोपीकृष्णजस्ता हल पनि बन्द भए

LC (KTM) July 31, 2021 0

काठमाडौं-फिल्म निर्माण र प्रदर्शनको व्यवस्थापनमा सक्रिय देखिने निर्माता तथा वितरक गोपाल कायस्थलाई यतिखेर राजधानीको बौद्धस्थित सिद्धार्थ चलचित्र मन्दिर (हल) भत्काउने चटारो छ। एक सातादेखि उनी सिद्धार्थ हलभित्र रहेका सामान व्यवस्थापनमा लागि परेका छन्।

‘कोरोना महामारीका कारण चलचित्र क्षेत्रमा गतिविधि ठप्प भइरहेको अवस्थामा हल बन्द गरेर राख्नुको सट्टा भत्काएर व्यापारिक शैलीको नयाँ भवन बनाउनु उत्तम होला,’ उनले भने, ‘तत्काल पुरानो शैलीको सिद्धार्थ हल भत्काउने सम्झौता गरिसकेका छौं। साउनको अन्तिम साताबाट हल भत्काइनेछ।’

२०४९ सालमा बौद्धमा रहेको दुई रोपनी जग्गा भाडामा लिएर सञ्चालनमा ल्याइएको सिद्धार्थ हल चार सय सिट क्षमताको छ। अधिकांश नेपाली फिल्म रिलिज हुने यो हल राजधानीको पूर्वी भेगमा चर्चित रहेको छ। ‘कोरोना महामारीपछि फिल्म हल सञ्चालनमा आउँदा फिल्मकर्मीले फिल्म रिलिज गर्न चाहेनन्,’ उनले भने, ‘जसका कारण बाध्य भएर धमाधम फिल्म हल बन्द गर्नुपरेको छ।

तत्काल फिल्म हल खुल्ने छाँट नदेखिएपछि हल भत्काउनु उत्तमजस्तो लाग्यो।’ उनले सिद्धार्थ हलको जग्गालाई मासिक डेढ लाख भाडा तिरिरहेको बताए। डेढ दर्जन कर्मचारी रहेको सो हलको मासिक खर्च तीन लाख रुपैयाँ रहेको छ । सिद्धार्थ हल भत्काएपछि निर्माण हुने नयाँ भवनमा हल राख्ने वा नराख्नेबारे टुंगो लागिसकेको छैन। यो समाचार आजको नागरिक दैनिकमा छ ।

सिद्धार्थ हल भत्काएलगत्तै राजधानीको कोटेश्वरमा रहेको पुष्पाञ्जली हलसमेत भत्काइने उनले बताए। उनले थपे, ‘अहिले हल बन्द गर्नुको विकल्प छैन । कोरोना महामारीको जटिल अवस्था रह्यो भने ९० प्रतिशत पुराना हल सधैंका लागि बन्द हुन्छन्।’कोरोनाका कारण राजधानीका जय नेपाल, कुमारी, र गोपीकृष्णजस्ता हल पनि बन्द भएका छन्। क्युएफएक्सले घाटा बेहोर्न थालेपछि जय नेपाल र कुमारी हल सञ्चालन गरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर