शासन विधि र पद्धतिमा आधारित भएर चल्नुपर्छ - नेता सिंह — OSNepal

शासन विधि र पद्धतिमा आधारित भएर चल्नुपर्छ – नेता सिंह

Kesh Karki (USA) August 11, 2021 0

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शासन विधि र पद्धतिमा आधारित भएर चल्नुपर्ने बताउनुभएको छ । मध्यपुरथिमि नगरपालिका–३ कौशलटारको भवन आज उद्घाटन गर्दै नेता सिंहले आफ्नो व्यक्तिगत, दलगत र समूहगत स्वार्थभन्दा माथि उठेर कानुन, विधि र पद्धतिमा रहेर शासन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले सरकारले कोरोनाविरुद्धको खोप सँगसँगै भ्रष्टाचार नियन्त्रणमा पनि जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ । नाराले होइन कामले गरेर देखाउनुपर्छ । जिम्मेवार पदमा बसेकाले पहिला सुरुआत गर्नुपर्छ ।”

उहाँले जनप्रतिनिधिले जनतालाई केन्द्रबिन्दुमा राखेर कार्य गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “जनप्रतिनिधिले जनतालाई विश्वासघात गर्नुहुन्न । जनता नै सर्वोपरि हो भन्ने ध्यान दिनुपर्छ ।”

उहाँले जनप्रतिनिधि साझा व्यक्तित्व भएकाले दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा समेत जोड दिनुभयो । “जनप्रतिनिधिले दलगत स्वार्थ त्यागेर काम गर्नुपर्छ । निर्वाचनमा दलको घोषणापत्र र चुनाव चिह्न लिएर निर्वाचन जानु प्रजातान्त्रिक प्रक्रिया हो तर निर्वाचित भई सकेपछि जनताको प्रतिनिधिका रुपमा अघि बढ्नुपर्छ । दलगत स्वार्थले काम गर्नुहुन्न”, उहाँले भन्नुभयो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सम्पदा संरक्षणमा नगरपालिकाले विशेष जोड दिए पनि नगरको सडक, ढल, सरसफाइ र व्यवस्थित बसोबासमा पनि उत्तिकै प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नगरपालिकाको नाराअनुसार सम्पदा संरक्षणको काम अघि बढेको छ । यसले बढी चर्चा पाएकाले नगरपालिकाले सम्पदा संरक्षणको मात्रै काम गरेको हो कि भन्ने बुझाइ पनि छ तर नगरपालिकाले ढल, सडक र सरसफाइमा समेत विशेष प्राथमिकता राखेर बजेट विनियोजन गरेको छ ।”

नेपाली कांग्रेसका नेता एवं मध्यपुरथिमि नगरप्रमुखका प्रत्याशी अष्ट कवेले नगरपालिकाले मध्यपुर थिमिका जनतालाई प्रमुख प्राथमिकतामा राखेर कोरोनाविरुद्धको खोप व्यवस्थापनमा थप जोड दिनुपर्ने सुझाव दिनुभयो । नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले नगरका पुराना बस्तीमा मौलिक शैलीको संरक्षणका लागि बाटोमा ढुङ्गा छाप्ने कार्य अघि बढाएको र नयाँ बस्ती क्षेत्रमा सडकलाई कालोपत्र गर्ने कार्य अघि बढाएको जानकारी दिनुभयो ।

वडा नं २ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता राम थापा मगरले नगरका ४ र ८ बाहेकका वडाको भवन निर्माण कार्य अघि बढाइए पनि विविध कारणले केही वडा भवनको काममा ढिलाइ भइरहेको जानकारी दिनुभयो । वडा नं ३ का वडाध्यक्ष प्रेमबहादुर कुटुले वडाको सुविधासम्पन्न नयाँ भवनबाट जनतालाई छिटोछरितो र सरलरुपमा सेवा उपलब्ध गराउन वडा कार्यालयलाई थप प्रविधिमैत्री बनाइने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर