नेपालकै यो अचम्मको झरना, जसमा नुहाउँदा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ — OSNepal

नेपालकै यो अचम्मको झरना, जसमा नुहाउँदा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ

LC (KTM) August 21, 2021 0

दैलेख-जिल्लाको भैरवी पञ्चकोशी तीर्थस्थल मध्येको एक पर्यटकीय धार्मिक स्थल हो । भैरवी गाउँपालिका–४ र चामुण्डा वीन्द्रासैनी नगरपालिकाको बिच सीमानामा भैरवीकै नामबाट भैरवी गाउँपालिकाको नामाकरण गरिएको छ ।

वरिपरि जङ्गलले घेरिएको हरियाली वातावरण । त्यहीँ हरियाली वातावरणबिच छङछङ गरिरहने भैरवी झरना । आफैंमा सुन्दर हेरिरहुँ लाग्ने त्यहीँ बसिरहूँ लाग्ने । जति हेरे पनि मन नअघाउने । झन झन हेरिरहुँ लाग्ने झन नजिक गएर काखैमा बसौ लाग्ने ।

पहाडको फेदी गौमुलबाट लडिबुडी गर्दै ओल्लो छाल पल्लो छाल गर्दै फेदीमा झर्छ । त्यहीँ पहाडको फेदी र गौमुलबाट झरेको स्वच्छ, निर्मल पानीको छहराको काखमा एकैछिन् बस्दा पनि स्वर्गमा पुगेजस्तो भान हुन्छ । जति नजिक गयो उति नै काखमा राख्छ भैरवी झरनाले । काखमा बसेर कहिले नअघाउने झन मन बहकाउने ।

व्यस्त दैनिकी छलेर त्यहाँ पुग्ने आन्तरिक पर्यटकले तनाव बिर्सन्छन । मन भुलाउछन् । मनले इच्छाएको हे भैरवी पुर्‍याइदेउ भन्दै पुकार्छन् । कैयौँ प्रकृति प्रेमी प्रकृतिमा नजर अडाउँछन र मन शान्त पार्छन् । कहिले ‘मेरो मनको पुर्‍याइदेउ भैरवी’ भन्दै जान्छन् त कहिले दुई प्रेमी जोडी ‘हे भैरवी हाम्रो सधैभरी मिलन गराइदेउ’ भन्दै पुकार्छन् ।

पहाडको फेदी र गौमुखबाट लडिबुडी गर्दै छाँगा छहरा हुँदै फेदीसम्म पुगेर झर्ने भैरवी झरना पुग्नलाई उचित पूर्वाधार र उचित प्रचारप्रसार नहुँदा अहिले ओझेलमा छ । गौमुल उद्गमस्थल भएको भैरवी झरना मनमोहक झरना रहेको उक्त ठाउँमा पछिल्लो समयमा भने आन्तिरक पर्यटकहरु जाने गरेका छन् । आन्तरिक तथा बाह्य पर्यटकका लागि उचित गन्तव्य रहेको झरनाका बारेमा गाउँपालिका र नगरपालिका तथा वडा कार्यालयले पनि चासो नदिएको स्थानीयको गुनासो छ ।

मनोकांक्षा पुरा हुने विश्वास : पुरानो इतिहास बोकेको यो ठाउँमा पूर्णिमाको दिनमा धेरै टाढाबाट दर्शनार्थीहरु आउने गर्छन् । यहाँको झरनामा नुहाउँदा मनले चाहेको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । यहाँको झरनामा नुहाएर मनले सोचे/आटेको इच्छा पूरा हुन्छ भन्ने धार्मिक विश्वासले नै पूर्णिमाको दिन टाढा टाढाबाट यहाँ थुप्रै दर्शनार्थीहरु आउने गरेको स्थानीय सञ्चारकर्मी खगेन्द्र रानामगर बताउँछन् ।

रातीको समयमा झरना खसेको ठाउँमा भगवान : रातीको समयमा झरना खसेको ठाउँमा भगवान रामसीता र बाघमाथि देवी चढेका दृश्यहरु कुदेकोसमेत देखिने गरेको रानामगर बताउँछन् । रानामगरकाअनुसार अरुले यस्ता दृश्य देखिन्छन् भनेर पहिले आफूले विश्वास नगरेको पछि रातीको समयमा आफ्नै आँखाले प्रत्यक्ष देख्दा विश्वास लागेको उनी बताउँछन् ।

झरना माथि अर्को झरना, दुधको धारा बग्ने बासुधारा : झरनामाथि एउटा अर्को झरना छ त्यो झरनालाई बासुधारा भनेर चिनिन्छ । तीनवटा बासुधारा भएको ठाउँबाट पानी नभएर दुध झर्‍थ्यो, त्यहीँ भएर बासुधारा नाम रहेको भन्ने किंवदन्ती छ ।

त्यहीँ झरेको दुधलाई बाहिर लिएर खिर बनाएर खाइसकेपछि दुध झर्न बन्द भएको स्थानीय ८० वर्षीय मान बहादुर सिजाली मगर बताउँछन् । पूर्णिमाको दिनमा बाँके, बर्दिया, कैलाली, सुर्खेत लगायत धेरै ठाउँहरुबाट दुई हजारभन्दा धेरै तिर्थालुहरु यहाँ पुग्ने गरेको सिजालीले बताए ।

टाढा टाढाबाट यहाँको झरनामा आएर नुहाएपछि आफूले सोचेको कुरा पुरा हुन्छ भन्ने धेरैको धार्मिक विश्वास छ । तर यहाँका स्थानीय सरकारले त्यति चासो नदेखाउँदा ओझेलमा पर्दै गएको छ । झरना वरीपरी न कुनै पूर्वाधार नै छ, नत बास बस्ने ठाउँ नै ।

टाढा टाढाबाट आएका तिर्थालुहरु पनि राति नजिकैको ओढारमा बास बस्ने गर्छन् । टाढाबाट आउने तिर्थालु र पर्यटकका लागि स्थानीय र प्रदेश सरकारले बस्नको लागि प्रतिक्षालय, सडक, झरनासम्म पुग्ने पक्की बाटो बनाउनुपर्ने स्थानीय ७४ वर्षिय मानबहादुर सिजाली मगर बताउँछन् ।

‘हामी यस्तै सुन्दर मनोरम दृश्य भएको ठाउँ खोज्दै घुम्न जान्छौं । अरुको ठाउँलाई राम्रो भनिरहेका हुन्छौं । तर आफ्नो स्वर्गजस्तो ठाउँमा घुम्न मन पराउँदैनौं,’ रमगरले भने ।

भैरवीमा पर्यटक भित्ताउन डिपीआर : पञ्चकोशी तीर्थस्थल मध्येको एक स्थल भएको र एकसय मिटरभन्दा अग्लो भैरवीको विकासको लागि गाउँपालिकाले डिपीआर तयार पारेको गाउँपालिका अध्यक्ष प्रेम बहादुर बुढाले जानकारी दिए । उनले भने, ‘भैरवी पुग्न मुख्य सडकबाट चार किलोमिटर रहेको छ । त्यहाँभन्दा माथि पैदल मार्ग बनाउने योजना छ ।’

गाउँपालिकाले दक्षिणमा श्रीस्थान ज्वाला क्षेत्र, बिचैमा भैरवी र उत्तरमा कालिकोट सिमानामा रहेको व्याउलीलाई पालिकाले विशेष पर्यटकीय क्षेत्रका रुपमा अगाडि बढाउने लक्ष्य रहेको अध्यक्षको बुढाको भनाई छ ।

भैरवीमा पर्यटक भित्र्याउन डिपीयार तयार भइसकेको र डिपीआरमा सडक, प्रतिक्षालय, पैदल मार्ग, पार्कजस्ता सुविधाहरु समावेश गरिएको भैरवी गाउँपालिकाका इन्जिनियर हिरासिंह थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर