भदौरे जात्रा स्थगित — OSNepal

भदौरे जात्रा स्थगित

Kesh Karki (USA) August 26, 2021 0

स्थिति सहज भइदिएको भए यो बेला बागलुङ बजारमा भदौरे जात्राको रौनक चलेको हुनेथियो । रैथाने नेवार आफ्नो पुस्तैनी परम्परामा रमाइरहेका हुन्थे । संस्कृतिप्रेमी सबैका लागि यो याम जात्रामय बन्थ्यो ।

अहिले परिस्थिति त्यस्तो छैन । भदौरे जात्राका लागि कोरोना महामारी बाधक बनेको छ । सङ्क्रमणको जोखिम घटाउन जारी निषेधाज्ञाका कारण नेवार समुदायमा प्रचलित जात्रा, नाच स्थगन गरिएको छ ।

भदौरे जात्रा अन्तर्गत यहाँ लाखे, बास्सा, रोपाइँ, जोगी, होवा, कटुवाललगायतका नाच तथा झाँकी निकाल्ने गरिन्थ्यो । भीडभाडजन्य क्रियाकलापमा बन्देज लगाइएका कारण भदौरे जात्रा रोक्नुपरेको शाक्य कल्याण समाज बागलुङका सचिव मञ्जुल शाक्यले बताउनुभयो ।

“कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको र निषेधाज्ञा पनि कडा प्रकृतिको भएका कारण यसपाली जात्रा रोक्ने निर्णय ग¥र्यौँ”, उहाँले भन्नुभयो । गत वर्ष पनि अन्तिम समयमा आएर समाजले भदौरे नाच स्थगन गरेको थियो ।
भदौरे नाचले पर्वमय माहोलको छनक दिने गरेकोमा जात्रा रोकिँदा अहिलेका चाडबार्ड पनि यसै निराश छन् । खास उत्साह र रमझम छैन । नेवार समुदायका कलाकारले बर्सेनि जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म भदौरे नाच प्रदर्शन गर्थे । लाखे नाच त घण्टाकर्ण पर्वदेखि तीजसम्मै देखाउने चलन थियो ।

घण्टाकर्ण र गाईजात्रा भने सुरक्षा सावधानीसहित मनाइएको नेपाल भाषा मंकाः खलः बागलुङका सदस्य जयराम भारीले बताउनुभयो । गाईजात्राका दिन दिवङ्गत आफन्तको स्मृतिमा तायामचाः निकाल्नै पर्ने भएकाले न्यून उपस्थितिमा उक्त संस्कारलाई निरन्तरता दिइएको उहाँको भनाइ छ ।
“परम्परा जोगाउने मात्र काम भयो, गाईजात्रा पहिलेझैँ भव्य भएन”, सदस्य भारीले भन्नुभयो, “दिउँसोमा पनि तायामचाः नाच देखाउने प्रचलन रहेपनि कोरोना सङ्क्रमणको जोखिमका कारण यसवर्ष बिहान मात्रै निकालिएको थियो । समाज र खलः मिलेर नेवार समुदायको साँस्कृतिक परम्परालाई जोगाउँदै आएका छन् ।”

तीन सय वर्षअघि बसाइँसराइ गरी आउँदा ल्याएको जात्राको परम्परालाई यहाँका नेवारहरुले जीवित राखेका छन् । भाइचारा, मेलमिलाप, सामाजिक सन्देश र मनोरञ्जनको माध्यमका रुपमा भदौरे जात्रालाई लिने गरिएको संस्कृतिकर्मी प्रेम छोटाले बताउनुभयो ।

भक्तपुर, धुलिखेल र भादगाउँबाट भित्रिएका नेवार जातिले बागलुङमा भदोरै जात्राको प्रचलन बसालेको उहाँको भनाइ छ । जात्राभित्र विभिन्न परम्परा झल्कने गीत, नाच प्रदर्शन गर्ने गरिन्छ । जात्राले गीत, नृत्य र अभिनयबाट व्यङ्ग, पौराणीक कथा, जनजीवनका भोगाइ र स्वस्थ मनोरञ्जनलाई समेट्ने संस्कृतिकर्मी छोटाले उल्लेख गर्नुभयो ।

पहिलेपहिले भदौरे नाच हेर्नकै लागि गाउँगाउँबाट मानिस बागलुङ बजार झर्थे । दिनभर जात्रामा रमाउने र चाडबार्डलाई किनमेल गरेर साँझपख घर फर्कने गर्थे । पछिल्लो समय भदौरे जात्राको रौनक घट्दै गए पनि नेवार परम्परा र संस्कृति जोगाउन जेनतेन लागिपरेका छन् ।

नेवार समुदायको बसोबास रहेको गलकोटलगायतका ठाउँमा पनि जात्रा निकाल्ने चलन छ । संरक्षण अभावमा कतिपय नाच भने हराएको नेवार अगुवा बताउँछन् । लाखे नाच्ने कलाकार पाउनै गाह्रो हुन थालेको उनीहरुको दुःखेसो छ । यसै त परम्परा धान्न मुस्किल भइरहेका बेला कोरोना महामारीले थप प्रतिकूलता निम्त्याएको छ ।

चलिआएको रीतिथिति धान्न पनि धौधौको स्थिति छ । कोरोना सङ्क्रमण दर बढेसँगै गत साउन २८ गतेदेखि यहाँ कडा प्रावधानसहितको निषेधाज्ञा छ । अत्यावश्यक बाहेकका सबै सेवा ठप्प छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर