किसानका लागी खुशीको खबर : फोन गर्नुस्, हाते ट्याक्टर र अपरेटर लैजानुस् — OSNepal

किसानका लागी खुशीको खबर : फोन गर्नुस्, हाते ट्याक्टर र अपरेटर लैजानुस्

LC (KTM) August 26, 2021 0

खोटाङ, १० भदौ ।गाउँघरमा खेतबारी खनजोत गर्नका लागि गोरू र हली ज्यालामा लिने पुरानो प्रचलन कायम छ । तर, अहिले समय बदलिएको छ । बाँझो जग्गा खनजोतका लागि हली र गोरु भाडामा लिनुपर्ने अवस्था घट्दो छ । जमनाअनुसार पहाडी क्षेत्रमा पनि जमिन खनजोतका लागि गोरू र हलीको सट्टा हाते ट्याक्टरजस्ता आधुनिक उपकरणहरु भाडामा उपलब्ध हुने वातावरण बन्दैछ ।

त्यही कस्टम हायरिङको अभ्यासमा जुटेको छ, खोटाङको शुभम सामुदायिक सिकाइ केन्द्र । यान्त्रीकरणको माध्यमबाट कृषि पेशाको व्यावसायीकरणका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् सामुदायिक सिकाइ केन्द्रले किसानलाई भाडामै प्रविधि र जनशक्ति उपलव्ध गराउने गरी सेवा सुरु गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर १ बाट ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर, प्लान्टर, थ्रेसर, गाडी जस्ता कृषि उपकरण व्यवस्था गरेर सिकाइ केन्द्रले भाडामा उपकरण वा अपरेटरसहितको सेवा उपलब्ध गराउन थालेको छ ।

कृषिविज्ञ मदन राईको अगुवाइमा खोटाङमा व्यवहारिक शिक्षाको अभ्यास गर्दै÷गराउँदै आएको शुभम् फाउण्डेसन मातहतकै सामुदायिक सिकाइ केन्द्रले प्रतिघण्टा चार सय रुपैयाँका दरले जमिन जोत्ने हाते ट्याक्टर उपलब्ध गराउने गरी सेवा सुरु गरेको हो ।

गाउँ–गाउँका किसान वा कृषक समूहले सामुदायिक सिकाइ केन्द्रबाट उपकरण मात्र वा अपरेटर र उपकरण दुवै लैजान सक्ने शुभम् फाउण्डेसनका कार्यकारी निर्देशक सूर्य राईले बताए । फोनमार्फत माग आएको आधारमा गाडीमार्फत किसानको खेतबारीमा हाते ट्याक्टर लगायतका उपकरण र अपरेटर पुर्‍याउने व्यवस्था मिलाइएको छ । हातले हुँदैआएको खेती प्रणालीलाई विस्थापित गर्दै किसानलाई जबरजस्त यान्त्रीकरणतर्फ डो¥याउने प्रयासमा पहाडी क्षेत्रमै पहिलोपल्ट भाडामा कृषि उपकरण उपलब्ध गराउन थालिएको कार्यकारी निर्देशक राईले बताए ।

‘मधेशमा कृषिमा यन्त्रीकरण भएको छ । तर, पहाडमा भएको छैन । पहाडमा पनि यान्त्रीकरण गर्नुको विकल्प छैन,’ कार्यकारी निर्देशक राईले भने, ‘चुनौती त छ । तर, अब हातले मात्र खेती गरेर हुँदैहुन्न । जबरजस्त यान्त्रीकरणमा जानैपर्छ । सम्भवतः पहाडीमा यो पहिलो कन्सेप्ट हो ।’

शुभम् सामुदायिक सिकाइ केन्द्रले विशेषगरी किसानलाई भाडामा खनजोत गर्नेदेखि बालीनाली रोप्ने र उठाउने उपकरण उपलब्ध गराउने, खरिद गर्न चाहने किसानलाई उपकरण उपलब्ध गराउने, कृषियन्त्र बिग्रेको अवस्थामा मर्मत गरिदिने, किसानलाई प्रविधिसम्बन्धी जानकारी गराउने, बिऊ, बेर्ना तथा किटनाशक औषधि उपलब्ध गराउने, किसानको उत्पादनलाई ढुवानी गर्नेदेखि बजारीकरणमा सहयोग गर्ने जनाएको छ ।

शुभम् सामुदायिक सिकाइ केन्द्रले अनुदानका ६ वटा हाते ट्याक्टर तयारी अवस्थामा राखेको छ । अन्य हाते ट््याक्टर सिकाइ केन्द्रकैतर्फबाट व्यवस्था गरिएको छ । धान, मकै, गहुँ, कोदो प्लान्टर र थ्रेसर मेसिन पनि तयारी अवस्थामा राखिएको केन्द्रले जनाएको छ । सिकाई केन्द्रले जग्गा लिएर ठूलो क्षेत्रमा खेती गर्ने र स्वरोजगार बन्न चाहले बेरोजगार युवालाई प्राथमिकतामा राखेर सहयोग गर्ने जनाएको छ ।

‘कृषि पर्यटनको विकासका लागि पनि यान्त्रीकरण जरुरी छ । जे गरिन्छ यन्त्रकै प्रयोगबाट गर्नुपर्ने हुन्छ,’ राईले भने, ‘केही गर्न चाहने किसानका लागि ढोका खोल्ने प्रयास हो यो । मध्यपहाडमा यो काम नमूना हुन सक्छ । विशेषगरी स्थानीय सरकारले यस्ता विषयमा ध्यान दिनुपर्ने हो ।’

पछिल्लो समय गाउँ–गाउँमा हाते ट्याक्टर पुगेको छ, तर मर्मत गर्ने स्थान र जनशक्ति अभावमा धेरैजसो हाते ट्याक्टर थन्किन पुगेको छ । चलाउँदाचलाउँदै हाते ट्याक्टर थन्किन पुग्दा किसानमा प्रविधिप्रति वितृष्णा जाग्ने हुँदा मर्मतको सेवासमेत दिइने केन्द्रले जनाएको छ ।

कृषिको व्यवसायीकरणका लागि स्थानीय सरकारले हरेक वडामा कस्टम हायरिङको सेवा उपलब्ध गराउनुपर्ने कार्यकारी निर्देशक राईले बताए । ‘स्थानीय सरकारले वडा–वडामा कस्टम हायरिङको काम गर्न सक्छ । यो गोरुभन्दा सस्तो पर्छ,’ राईले भने, ‘किसान गोरु बाँधेर मेसिन चलाउन अघि सर्ने छ । पहाडमा उत्पादकत्व वढाउने नै यसरी हो ।’

कस्टम हायरिङको सुविधा सुरु भएपछि सोल्माका किसान कविराज राईले सिकाई केन्द्रबाट अपरेटरसहित तीनवटा हाते ट्याक्टर लगेर बाँझो जग्गा जोतेका छन् । ४/५ वर्षदेखि बाँझिएको जग्गा खनेर बन्दा, काउली, गोलभेँडा र सिमी लगाउने तयारी गरेको कविराजले बताए ।

‘एक त अहिले गोरु पाइन्न, पाउँदा पनि महंगो पर्छ । गोरु जोत्दा काम ढिलो हुन्छ । जोतेको ठाउँमा डल्ला उठ्छ,’ कविराजले भने, ‘हाते ट्याक्टरबाट काम चाँडो हुन्छ । गोरुभन्दा सस्तो पनि पर्छ । जोतेको ठाउँमा डल्ला उठ्दैन । कोदालोको पासोले डल्ला फोडिरहनु पर्ने झन्झट पनि हुन्न रहेछ ।’

तस्बिर क्याप्सन : हाते ट्याक्टरले सोल्माका किसान कविराज राईको बारी जोत्दै शुभम् सामुदायीक सिकाई केन्द्रका अपरेटर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर