नागढुङ्गाबाट अवैध लागूऔषध सहित नजाम पक्राउ — OSNepal

नागढुङ्गाबाट अवैध लागूऔषध सहित नजाम पक्राउ

LC (KTM) August 26, 2021 0

काठमाडौं, १० भदौ- चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ६० ट्याब्लेट नाईट्राभेट र १ बोतल कोडिवेल सहित सर्लाही ईश्‍वरपुर नगरपालिका-२३ श्रीनगर बस्ने २४ वर्षीय नजाम अन्सारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ४८०० नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार नजामलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै नवलपरासी (पश्चिम), प्रतापपुर गाउँपालिका-४ बर्दघाटबाट करिब १० केजी अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित भारत उत्तर प्रदेश भगतपुरवा बस्ने ३७ वर्षीय राजेश यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पाचपेडाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनको झोलाभित्र पत्रिका र टेपले बेरेको अवस्थामा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

बर्दिया, गुलरिया नगरपालिका-११ लालपुर चौराहबाट नियन्त्रित लागूऔषध ५४ ट्याब्लेट नाईट्राभेट सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गेरुवा गाउँपालिका-३ बस्ने २३ वर्षीय अमित बिक र सोही गाउँपालिका-२ बनघुस्री बस्ने २३ वर्षीय राजेश थारु रहेका छन् । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा अमितलाई ३९ र राजेशलाई १५ ट्याब्लेट गरी उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट नियन्त्रित लागूऔषध ७८ ट्याब्लेट नाईट्राभेट सहित सोही नगरपालिका-४ बस्ने २४ वर्षीय छबिलाल गिरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको भे.१ ह ५१२४ नम्बरको अटोलाई प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा अटोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर