अवैध सालको काठसहित तीन जना पक्राउ — OSNepal

अवैध सालको काठसहित तीन जना पक्राउ

LC (KTM) August 27, 2021 0

दाङ, ११ भदौ -पछिल्लो समय जिल्लामा काठ तस्करहरु धमाधम समातिन थालेका छन् । केही दिनअघि २७ थान अवैध सालको काठसहित घोराही १० नारायणपुरका दुर्गा केसीको घरमा लुकाई राखेको अवस्थामा ४५ क्युफिट रहेको सालको चिरान काठ बरामद गरी डिभिजन वन कार्यालयमा पठाएको थियो । त्यहीँ दिन लमही नगरपालिका-२ राजपुरघाटबाट रा १ त ४०७३ नम्बरको ट्याक्टरमा अवैध रुपमा ओसार-पसार गर्दै गरेको अवस्थामा १८ थान ईपिलिपी जातको गोलिया सहित २ जना समातिएका थिए ।

शुक्रबार थप ३ जना समातिएका छन् । गढवा गाउँपालिका – ६ गढवा-लमही रोडबाट अवैध काठ ओसारपसार गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

कक्रहवाबाट लमहीतर्फ जाँदै गरेको लु २ च ७७४१ नम्बरको युढा कम्पनीको पिकअप जिपमा रहेको १७ थान साल जातको चिरान काठ सहित राप्ती – ८ पिपरा बस्ने ३७ वर्षका विनोद चौधरी, गढवा गाउँपालिका – ४ खड्गपुर बस्ने २४ वर्षका साहिद मुसलमान र राप्ती गाउँपालिका – ५ कालापानी बस्ने २६ वर्षका प्रदीप कुमार चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठ तस्करीको अभियोगमा पक्राउ परेकाहरुमाथि आवश्यक कारवाहीका लागि थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर