पछिल्लो समय हराउन थाले तीजका पुराना मौलिक भाकाहरु — OSNepal

पछिल्लो समय हराउन थाले तीजका पुराना मौलिक भाकाहरु

LC (KTM) September 09, 2021 0

तीजका पुराना मौलिक भाकाहरु पछिल्लो समय हराउन थालेका छन् । समयको परिवर्तनसँगै गाउँघरमा पुराना तीजका भाकामा गाउने र नाच्ने चलन हट्दै गएको छ । महिलाहरूले घर–माइत गर्दाका बखत दुःख सुखका कुरालाई संगालेर तीजका बेलामा नाच्ने गाउने गर्थे ।

पहिलेका तीजका गीतमा महिलाको दुःख वेदनालाई दर्साइएको हुन्थ्यो भने अहिलेका केही गीतमा परिवर्तनका नाममा विकृति पनि भित्रन थालेको पाल्पा रामपुुरकी शिवकुमारी वाग्ले बताउँनुहुन्छ । “पहिलाका तीजका गीतले समाजका यथार्थ कुरालाई चित्रण गरेको हुन्थ्यो, गीत संगीतका लय भाका सुन्दा पनि मनलाई एक किसिमको आनन्दानुभूति हुन्छ, अहिलेका गीतमा पुरानो लयका गीतहरू खासै सुन्न पाइदैन”, उहाँले भन्नुभयो ।

कहाँमा जान्छौ रानीचरी बगला भगमानलाई भेटन ।
भगमान्लाई भेटन के के पाहुर चाहिन्छ ।।
एकुमा चाहिन्छ शिरीखण्ड चन्दन दोसरी बेलपत्र ।
बेलपत्र समाई दाहिने ब्रत गरी भगमान्लाई दर्शन ।।

अहिले यस्ता गीतहरु कमै मात्र सुन्न पाइन्छ । अहिले बजारमा आएका केही तीज गीतमा समाज परिवर्तनका स्वर पनि सुनिन्छन् । पाकापुस्ताले पुराना गीत संगीतप्रति रुची जगाउँछन् तर गीत संगीतमा समयअनुसार परिवर्तन आउनुपर्ने युवापुस्ताको माग छ ।

वर्षेनी घर–माईतका दुःखका कुरा भन्दा पनि समयअनुसार गीतमा केही कुरा परिवर्तन हुनु स्वाभाविक हो तर पुराना गीतलाई पनि संरक्षण गरिनुपर्ने धेरैको आवाज छ । तीज गीत भनेको महिलाको मर्म र वेदना पोख्ने खालको हुनुपर्ने र तीजको नाममा समाजमा विकृति भित्र्याउने खालका गीत संगीत कलाकारले बजारमा ल्याउनु नहुने पार्वती न्यौपानको भनाइ छ ।

तीज आयो जाउन बाबु दिदी लिनलाई ।
खुट्टैमा ढोँग गरे है भेट्दा भेनालाई ।।
हुन्छ अमा दिदी लिन जान्छु जान त ।
कोसेली पो के लानी हो पर्छ लान त ।।

पहिला–पहिला गाउँमा सडक पुगेको थिएन, चेलीबेटी लिन माइती मावली नै पैदल हिँडेर जानुपर्ने बाध्यता थियो । सासु ससुरा, घरपरिवारको अपहेलना सहन महिला बाध्य थिए । हिजोआज भने गाउँ–गाउँमा सवारी साधन पुग्नु, महिला शिक्षित बन्नु, थिचोमिचो विरुद्ध सम्बन्धित निकायमा न्यायका लागी आवाज उठाउन सक्ने हुँदा पनि पछिल्ला समय तीजमा महिलाका दुःख वेदनाका गीतहरु कमै मात्रामा बजारमा आएका छन् ।

“उडी आयो रानचरी बस्यो सेतो हिमालमा ।
बुहारी भन्दा दाइजो प्यारो अहिले नेपालमा ।।
मुखले त भन्छन् सबले हाम्लाई चाहिदैन ।
साँच्चै दाइजो नलिने त कोही पाइदैन ।।”

पहिला–पहिला तीजमा मात्र माइती मावली जाने र त्यही बेला आफ्ना दुःख सुखका कुराहरु पोख्ने चलन थियो । तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । पछिल्लो समय बजारमा आएका केही तीजका गीतले तीजको मौलिकता र संस्कृतिलाई ध्यानमा नराखी ल्याएकामा आम नागरिकले टिकाटिप्पणी गर्न थालेका छन् ।
“कत्रो रहर थियो होला नाच्ने गाउने तीजमा कोरोनाले ‘कोल्याप्स’ हान्दियो बिच्च बिच्चमा । पोहोर परार नाच्यौँ दिदी रातो साडी उचाली यसपालीको तीज बरै ख्यास्स पुतली ।।”

तीज पर्वको चहलपहल शुरु भएपछि एकै ठाउँमा माइती भएका दिदीबहिनी एक दिनको बाटो हिँडेर माइती पुग्दा बाटोमा धेरै दुःख सुखका अनुभव आदानप्रदान गर्दै माइती घरमा पुग्दा छुट्टै आनन्दानुभूति हुने गरेको स्मरण पोख्नुहुन्छ, सीता सिग्देल ।

पछिल्लो समय भने घरमै सुख सुविधा हुन थालेपछि तीज पर्व नै पर्खेर माइती मावली जाने क्रम पनि पातलिँदै गएको उहाँ बताउनुहुन्छ । सूचना संचार प्रविधिको बढ्दो विकासले गाउँघरमा सबै जम्मा भएर साँझमा खाना खाएपछि गाउने र नाच्ने चलन हराउन पुगेको छ । घर–घरमा टेलिभिजन, रेडियो, इन्टरनेटको प्रयोगले गाउँघरमा तीजका बेला नाच्ने र गाउने चलन हराउन पुगेको कलाकार लक्ष्मी तिवारी बताउनुहुन्छ ।

“पालैपालो सबका घरमा दिनदिनै गाउने नाच्ने गरिन्थ्यो, तीजको चहलपहल नागपञ्चमीदेखि नै हुन्थ्यो, अहिले त कोही पनि घरबाट बाहिर निस्कदैनन्, घरभित्रै बस्यो टिभी, मोबाइलमा तीजका गीत हे¥यो बस्यो”, उहाँले भन्नुभयो । “अहिले तीजका नाममा महिना दिन अघिदेखि दरखाने कार्यक्रम हुन्छन्, भिडियो बनायो नाच्यो त्यही हे¥यो बस्यो, युट्युबमा आइहाल्छ, यसले गर्दा पनि गाउँघरमा तीजका गीत गाउँने र नाच्ने चलन हरायो”, उहाँले थप्नुभयो ।

तीजको दिन बजारमा महिलाहरु जम्मा भएर गाउने र नाच्ने चलन पनि हराइसकेको छ । पहिलेजसो तीजको दिन ठूलो समूहमा बजारको एक खुल्ला ठाउँमा महिलाहरु गीत गाएर नाच्ने, जमघट हुने कार्य रामपुर क्षेत्रमा अहिले देख्न पाइँदैन । हुन त पछिल्लो समय बजारमा आएका सबै गीतले समाजमा विकृति नै ल्याउँछन् भन्ने छैन । पुराना गीतलाई संरक्षण गर्दै बदलिँदो समयानुसार समाजमा सकारात्मक सन्देश दिने खालका गीत संगीत पनि आएका छन् । गीत संगीतले समयअनुसार समाजका वास्तविक कथा व्यथा बोल्न सकुन् । समाजमा सकारात्मक सन्देश दिने खालका गीत संगीततर्फ कलाकारको ध्यान जान आम नागरिकको अनुरोध छ ।

पहिलेका तीज गीत सुन्दा महिलाका धेरै आवाज मात्रै सुनिन्थे । त्यतीबेलाका गीत संगीतले नारीका दुःख वेदनालाई उजार गरेको हुन्थ्यो । तर अहिले भने तीज गीतमा महिला र पुरुषको आवाज बराबरी जस्तै पाइन्छ ।

तीज पर्वको सांस्कृतिक महत्व
धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भइ महादेव पति पाएको दिनलाई हिन्दू नारीहरुले हरितालिका तीजका रुपमा मनाउँदै आएका छन् । पार्वतीले महादेवलाई श्रीमान्का रुपमा पाउन १०७ जन्मसम्म घोर तपस्या गरेपनि १०८ औँ जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा शास्त्रमा उल्लेख छ । यही मान्यतालाई अनुशरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमान्को दीर्घायू एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने चलन छ ।

तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तीजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । आयुर्वेदमा अपमार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ भनिएको छ ।

पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको खाना र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमान्ले पकाएको भोजन खाए आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर