ओलीको दस्तावेज : १० बुँदे सहमति गरेर पार्टी एकताको पक्षमा उभिनेहरु कुनै बेला सरकार विस्थापित गर्ने योजनाकार र प्रचण्डका सारथि थिए — OSNepal

ओलीको दस्तावेज : १० बुँदे सहमति गरेर पार्टी एकताको पक्षमा उभिनेहरु कुनै बेला सरकार विस्थापित गर्ने योजनाकार र प्रचण्डका सारथि थिए

LC (KTM) September 20, 2021 0

काठमाडौं ४ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिका पक्षधरहरुलाई विगतमा प्रचण्डको सारथी भएको बताएका छन् ।

आफ्नो १० बुँदे राजनीतिक दस्तावेज प्रस्तुत् गर्दै अध्यक्ष ओलीले स्थायी कमिटिको बैठकमा १० बुँदे सहमति गरेर पार्टी एकताको पक्षमा उभिनेहरु कुनै बेला पहिलो सरकार विस्थापित गर्ने योजनाकार र प्रचण्डका सारथिको रुपमा काम गरेको आरोप लगाएका हुन् ।

उनले पार्टी एकताको लागि प्रयास गरिरहेका नेताहरु भीम रावल,युवराज ज्ञवाली, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त लगायत नेताहरुलाई प्रचण्डको सारथी भएको बताएका हुन् ।

प्रस्तावमा भनिएको छ , ‘नेकपा (एमाले) नेतृत्वको सरकारलाई जुनसुकै मूल्यमा अपदस्थ गर्न, प्रदेशहरूमा एमाले सरकारलाई विफल पार्न, पार्टीका उम्मेदवारहरूलाई पराजित गर्न र आन्दोलनलाई विपक्षीहरूको सेवामा समर्पित गर्न यी व्यक्तिहरूबाट भएका गतिविधि सार्वजनिक नै छन् ।’

‘१० बुँदे प्रस्तावको कार्यान्वयन र पार्टी एकता जोगाउन प्रदर्शित अधिकतम लचकताका बाबजुद हरहालतमा पार्टी विभाजन गरी छाड्ने योजना स्पष्ट भएपछि पार्टीभित्रको अन्तरसंघर्षमा उनीहरूको साथमा रहनुभएका अधिकांश कमरेडहरू त्यसलाई अस्वीकार गरेर एकताको पक्षमा उमिनु भएको छ’।

विभाजनका योजनाकारहरू नवौं राष्ट्रिय महाधिवेशनदेखि नै पार्टीका नीति र नेतृत्वका विरुद्ध अन्त्यहीन गुटबन्दी, किचलो र असहयोगमा संलग्न थिए प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यो त राष्ट्रियताको पहरेदार, लोकतन्त्रको आधारस्तम्भ र सामाजिक-आर्थिक रूपान्तरणको संवाहकका रूपमा रहेको नेकपा (एमाले) लाई जसरी पनि विभाजित गरी छाड्ने बृहत् योजनाको एउटा अंगको रूपमा घटित घटना भएको जारी प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पार्टीलाई विभाजन गर्नलाई अदालतमा समेत सेटिङ भएको उल्लेख गरिएको ओलीको प्रतिवेदनमा सर्वोच्चको फैसलाले कम्युनिस्ट आन्दोलन, संवैधानिक व्यवस्था र जनताको सर्वोच्चतामाथि चुनौती बढेको समेत बताइएको छ ।

एमाले विभाजन गर्न वैधता दिने काम अदालत, निर्वाचन आयोग र सभामुखको सहयोगी भूमिका रहेको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । जसलाई हामी कानुनी रुपमा प्रतिवाद गर्ने समेत बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर